२०७९, ९ आश्विन आईतवार

डोल्पामा एमाले, कांग्रेस र माओवादीले टुंग्याए संघ र प्रदेशका उम्मेदवार

डोल्पा : हिमाली जिल्ला डोल्पामा एमाले, कांग्रेस र माओवादी केन्द्रले संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको सिफारिस टुंग्याएका छन् । आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने केन्द्रीय सर्कुलरबमोजिम जिल्लास्थित राजनीतिक दलहरूले नाम सिफारिस टुंग्याएका हुन् ।
कांग्रेस
जिल्ला कार्यसमिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कर्ण बुढालाई एकल उम्मेदवार सिफारिस गरेको पार्टी सचिव हिक्मत शाहीले जानकारी दिए । त्यसैगरी प्रतिनिधिसभा समानुपातिकका लागि पूर्वपार्टी सभापति टंकप्रसाद उपाध्याय, पूर्वसमानुपातिक सांसद दूधकुमारी हमाल, अर्णबहादुर न्यौपानेलाई सिफारिस गरिएको छ ।
यसैसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति दीपेन्द्रबहादुर शाहीलाई एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ । समानुपातिकतर्फ योगेन्द्रबहादुर शाही, नवराज शाही, श्रीबहादुर शाही, दशरथ रोकाय, सुवर्ण शाही, वेगमसिंह ठकुरी, रामकुमारी शाही, जुना रोकायलाई सिफारिस गरेको छ ।
प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का लागि प्रत्यक्षतर्फ पार्टी जिल्ला उपसभापति पुर्णबहादुर शाही, श्रीलाल बस्नेत, भैरवबहादुर शाहीलाई सिफारिस गरेको छ । यसअघि ‘ख’ क्षेत्रका सभापति मोतीप्रसाद उपाध्यायको अध्यक्षता बसेको बैठकले महासमिति सदस्य जयनन्द उपाध्याय, पूर्णबहादुर शाही, तुलबहादुर बोहरा, श्रीलाल बस्नेत, सुनरुपा ठकुला, कर्णचन्द्र रोकायको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाइएको थियो ।
तर, जिल्ला कार्यसमितिले जयनन्द उपाध्यायसहित तीनजनाको नाम काटेर पार्टी उपसभापति पूर्णबहादुर शाही, श्रीलाल बस्नेत, भैरवबहादुर शाहीलाई सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिले पार्टीको विधानबमोजिम क्षेत्रिय सभापतिको नेतृत्वमा गरिएको निर्णय कुल्चेर पुनः उम्मेदवाररको नाम थपघट गरेर सिफारिस गरिएकोमा घोर आपत्ति रहेको महासमिति सदस्य उपाध्यायले बताए । यसैगरी समानुपातितर्फ शुरबहादुर शाही, विष्णु रोकाय, लक्ष्मी शाही, मतिरूपा रावललाई सिफारिस गरिएको छ ।
एमाले
यस्तै, नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस टुंग्याएको छ । जिल्ला कमिटीले प्रतिनिधिसभाका लागि बदमीकुमारी बोहरालाई एकल उम्मेदवार सिफारिस गरेको पार्टी सचिव लंकबहादुर रोकायले जानकारी दिए ।
त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ पूर्वजिल्ला समन्वय समिति प्रमुख तथा पार्टी जिल्ला अध्यक्ष शेरबहादुर बुढालाई एकल सिफारिस गरिएको छ । समानुपातिकतर्फ विष्णुबहादुर रोकाय, प्रिमाकुमारी शाही र प्रेमलाल विकलाई सिफारिस गरिएको छ ।
यस्तै ‘ख’ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ धनचन्द्र बैजी, आङबहादुर लामा, चन्द्राकुमारी बुढालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ तुलाचन्द्र बुढा र प्रेम विकलाई सिफारिस गरिएको छ ।
माओवादी केन्द्र
माओवादी केन्द्र डोल्पाले संघ र प्रदेशका लागि उम्मेदवार सिफारिस टुंग्याएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ जिल्ला पार्टी अध्यक्ष मालबहादुर रोकाय, दिलबहादुर विष्ट र वीरेन्द्रकुमार डाँगीलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ माओवादी केन्द्र केन्द्रीय सदस्य काली चलाउने, भीमा केसी बञ्जारा र नैनसिंह विकलाई सिफारिस गरेको छ ।
त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ धनप्रसाद कार्कीलाई सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का लागि प्रत्यक्षतर्फ बहालवाला उद्योग पर्यटन वन तथा वातावरणमन्त्री वीरबहादुर शाही र चन्द्रमान रोकायको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ ग्याल्बो थापा भोटे, उर्मिला विक, पूर्णिमा बोहोरा र पेमा डोल्मा गुरुङको नाम सिफारिस गरेको छ ।
एकीकृत समाजवादी
त्यसैगरी नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस टुंग्याएको छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वपर्यटन राज्यमन्त्री तथा सांसद धनबहादुर बुढाको नाम एकल सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने मिलन शाही र काली बुढाको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ पूर्वमन्त्री नन्दसिंह बुढाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ युवा नेता मानप्रसाद बुढा र मिलन शाहीको नामसिफारिस गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ युवराज थकालीको नाम एकल रूपमा सिफारिस गरिएको छ । समानुपातिकतर्फ छक्कबहादुर धराला र माया ठकुल्लाको नाम सिफारिस गरिएको छ ।