२०८१, ७ बैशाख शुक्रबार

ऐतिहासिक दैलेख दुल्लुको किर्तिखम्ब गाई गोरु र बाख्रा बाँध्ने थलो बन्दै

सुर्खेत : दैलेखको दुल्लु नगरपालिकामा रहेको ऐतिहासिक नेपाली भाषाको पहिलो शिलालेख किर्तिखम्ब (किर्तिस्तम्भ) गाई गोरु बाध्ने काममा प्रयोग हुँदै आएको छ । नेपाली भाषीहरुको ऐतिहासिक शिलालेख रहेको किर्तिस्तभ गाई गोरु बाध्ने थलो बन्न थालेको छ ।
दुल्लुबासीको मात्र नभएर नेपाली भाषीहरुको एक गहना रुपमा रहेको किर्तिस्तभमा गाइ गोरु बाध्ने थलो बन्नुमा उचित संरक्षणको समस्या रहेको स्थानीय तिर्थ सुनारले बताए । ‘यसको संरक्षणको लागी लाखौँ रकम पनि खर्च भयो तर त्यो बालुवाको पानी भयो ।’ उनले भने,‘कसैले त्यसको महत्व बुझ्न सकेनन भने कसैले त्यसको संरक्षण गर्न पनि सकेनन् ।’
स्थानीय नागरिकहरुले संरक्षणमा ध्यान दिन नसक्दा समस्या भएको स्थानीयहरुले बताउने गरेका छन् ।
यसभन्दा अगाडी दुल्लु नगरपालिका र केही अभियान्ताहरुबाट किर्तिस्तभको साधारण घेरबार भएको थियो । अहिले उक्त किर्तिखम्ब परिसरमा अहिले पानी पर्दाको समयमा बाख्रा बाँध्ने गोरु बााँध्नेदेखि वरिपरिको रेलिंगमा कपडा सुकाउने काम भइरहेको स्थानीयले जानकारी दिए ।
‘किर्तिखम्ब परिसरका नेपाली भाषाका लिपि भएका खम्बाहरु गाइ गोरु र बाख्राका लागी ठोकिएका किला हुन खम्बा हुन ?’ एक स्थानीयले भने,‘सडक र बजारक्षेत्रसँगै रहेको किर्तिखम्ब अहिले फोहोर र कुरुप मात्र भइरहेको छैन कि गाइ गोरु र बाख्राले भरिदाँसम्म पनि सम्बन्धित निकाय मौन छ ।’
तत्कालिन सिंजा साम्राज्यका शासक पृथ्वी मल्लले शाके १२७९ जेष्ठ कृष्ण एकादशी आइतवारका दिन स्थापना गरिएको कीर्तिस्तम्भ खसमल्ल शासनकालका नायकहरूको नामनामेसी र वंशावली रहेको एक मात्र प्रमाण मानिन्छ । कीर्तिस्तम्भको अभावमा पश्चिम नेपालको इतिहासको प्रमाणीकता पुष्ट्याउन सम्भव छैन । यस स्तम्भले बोधगयादेखी गढवालको बाराहाट र तिब्बतको गुंगे प्रान्तदेखी दक्षिणको समथर भु–भागसम्म फैलिएको सांस्कृतिक सभ्यतालाई समन्वय गरेको छ । हुनत तत्कालिक समयमा पश्चिम नेपालको बौद्विक, सांस्कृतिक, धार्मिक तथा सामरिक सभ्यतालाई चित्रण गर्ने प्रसस्त प्रस्तर, अभिलेख, तामापत्र, कनकपत्र, आदेशपत्र, वीरखम्ब, वंशावलीहरू, तथा लोकगाथाहरू पनि नभएका होइनन्, तर यही परिवेशमा सवालाख पर्वतमालाहरूसम्म फैलिएर रहेको सिंजा साम्राज्यको राजधानी जुम्लाको लामाथाडालाई मानिए तापनि सम्राट पृथ्वी मल्लको सक्रिय राज्यकालको लगभग अन्त्यतिर दुल्लुमा स्थापना कीर्तिस्तम्भ स्थापना गरिनुले दुल्लु वा दैलेखलाई उच्च ऐतिहासिक महत्व प्रदान गरेको छ । सोझो अर्थमा भन्नु पर्दा सपादलक्ष शिखरी प्रदेशको अध्यायन अनुसन्धान वा खसप्रदेशको अवलोकन तथा कर्णाली प्रदेशको तिर्थयात्रामा रमाउन चाहने अनुसन्धाता तथा विजीगीषुहरूका लागि एक चोटी नपुगी नहुने स्थान हो दुल्लुको कीर्तिखम्बलाई लिन सकिन्छ ।