२०८१, १९ बैशाख बुधबार

जलविद्युत्ले फाइदा लिन सकिन्छ

जलस्रोतको प्रच्ुर उपलब्धता र भू–भौतिक बनौटले नेपालमा जलविद्युत उत्पादनको सम्भावना प्रशस्त छ । मुलुकको करीब ८३,००० मेगावाट जलविद्युत उत्पादन क्षमतामध्ये हालसम्म करिब ४२,००० मेगावाट विद्युत उत्पादनका लागि आर्थिक–प्राविधिक दृष्टिकोणबाट सम्भाव्य देखिएको छ । देशको सर्वाङ्गीण विकासका लागि जलविद्युतलाई आन्तरिक खपतको साथै निर्यातको सम्भावनालाई समेत दृष्टिगत गरी यसको विकास प्रक्रियालाई अगाडि बढाउन लगानी सहयोगी, स्पष्ट, सरल एवम् पारदर्शी नीतिगत व्यवस्था आवश्यक छ । प्रजातन्त्र पुनस्र्थापनापछि जलस्रोतको क्षेत्रमा अबलम्बन भएको खुला एवम् उदार नीतिले जलविद्युत विकासको क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थालेका छन् । यस क्रममा हाम्रो विगतको अनुभव एवम् निजी क्षेत्रसँगको छोटै भए पनि सहयात्राले पथप्रदर्शन गरेको छ ।
जलस्रोत क्षेत्रमा भएको निजी क्षेत्रको संलग्नता एवम् सहभागिताको क्रममा उब्जेका कमी कमजोरी निराकरण गर्नुपर्ने पनि देखिएको छ । नेपालमा जलविद्युतको विकास राष्ट्रिय मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई नै दु्रततर गतिमा अगाडि बढाउन सहयोगी हुनसक्ने देखिएकोले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखी द्विपक्षीय तथा क्षेत्रीय सहयोगको अवधारणामा एकीकृत जलस्रोत विकासका प्रयासहरू अघि बढाउन वाञ्छनीय छ । यस किसिमको प्रयासबाट मुलुकको आर्थिक विकास, औद्योगीकरण, बाढी नियन्त्रण, वातावरणीय संरक्षण, रोजगारीका अवसर सृजनाका साथै नेपालमा बन्ने बृहत जलाशययुक्त आयोजनाबाट तात्विक रूपमा तल्लो तटीय राष्ट्रलाई पुग्ने लाभको बाँडफाँडबाट समेत लाभान्वित हुने देखिन्छ ।