२०८१, ११ बैशाख मंगलवार

शर्माको ‘कमान्ड’मा पुनःनिर्माणमा खट्यो सिङ्गो जिल्ला कमिटी

सुर्खेत । भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा सिङ्गो जिल्ला कमिटी खटिएको छ । शुक्रवार बसेको माओवादी जिल्ला कमिटी बैठकले सिङ्गो पार्टी कमिटीलाई स्वयंसेवकका रूपमा रूपान्तरण गरिएको हो ।

सोही अनुसार सम्पूर्ण पार्टी कमिटी वडा वडामा खटिसकेको छ । शर्माका अनुसार सुरुमा भूकम्प प्रभावित क्षेत्रका जनताका लागि अस्थायी आवास निर्माण गरिने छ भने मङ्सिर महिनाभित्र पालमुनि रहेका नागरिकलाई छानाभित्र राख्ने लक्ष्य लिइएको छ ।

रुकुम माओवादीको आधार इलाका हो । पूर्व मन्त्री समेत रहेका शर्मा भूकम्प गएको समयदेखि निरन्तर प्रभावित क्षेत्रका नागरिकको घरदैलोमा व्यस्त छन् ।

माओवादीका प्रदेश अध्यक्ष विमला केसीका अनुसार टिनको व्यवस्थापनमा केही ढिलाइ भएको छ । टिनको व्यवस्थापन भएपछि तत्काल अस्थायी टहरा धमाधम निर्माण गरिने छन् । केसी पनि गृह जिल्ला रुकुममै व्यस्त छिन् । जिल्लामा पार्टी केन्द्रीय सदस्यहरू पालिकाहरूमा खटिएका छन् भने सबै नेताहरूलाई ठाउँ–ठाउँको जिम्मेवारी दिइएको छ । ‘म पनि एउटा वडामा जाँदै छु,’ अध्यक्ष केसीले भनिन्, ‘पालमा जनताको दैनिकी निकै कष्टकर छ । चाँडोभन्दा चाँडो पालमुक्त गराइनुपर्छ,। त्यसो गरे मात्रै नागरिकको ज्यान जोगाउन सकिएला ।’

उनका अनुसार प्रत्येक वडामा साढे एक सयदेखि २०० नेता, कार्यकर्ताहरू क्षतिग्रस्त स्थानहरूको व्यवस्थापनमा खटिएको छन् ।