ओझेलमा महावै धार्मिक पाटन
सुर्खेत : चारैतिर अग्लाअग्ला लेकहरु भएको कालिकोट र दैलेख जिल्ला बीचमा पर्ने महावै पाटन प्रचार प्रसारको कमीले ओझेलमा परेको छ । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मिक रुपमा पनि पवित्र मानिने महावै पाटन पर्यटकहरुका लागि आक्रषणको केन्द्र पनि हो ।
धार्मिक रुपमा यस पाटनको बीचमा थुम्कोमाथि शिव मन्दीर रहेको छ । यहाँ हरेक बर्ष साउन पूर्णिमा दिन मेला लाग्ने गर्दछ । जहाँ सुर्खेत, दैलेख, जुम्ला, जाजरकोट र कालिकोटका हजारौं भक्तालुहरु पुजा आरधनाका लागि विशाल ढुगामाथि रहेको मन्दिरमा पुजा गर्ने गरेका छन् ।
दैलेखका अहिले सडकबाट र कालिकोटबाट महावै गाउँपालिकाको डिल्लीकोट गाउँबाट एक दिनको उकालो चढेर महावै पाटन पुग्न सकिने महावै गाउँपालिका–१ का स्थानीय सर्पराज सिंहले बताए । ‘बैशाख जेठ असार साउन भदौं महिनामा पाटनमा पुग्ने जो कोही पनि सुन्दरताले स्तब्ध हुन्छ ।’ उनले भने,–‘आहा क्या राम्रो महावै । सबैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ ।’
महावै पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाँउहरु सहज हेर्न सकिन्छ । मौसम सफा भएको बेला बर्दिया, टिकापुर र नेपालगंजसम्म झिलिमिलि बत्ती बलेको देख्न सकिने बुढापाकाहरु बताउँछन् । यो पाटन साविको कर्णाली अञ्चल छिर्ने प्रवेशद्धार पनि हो ।
मनोरम दृश्य, लेकाली परिवेश, विन्भिन्न थरिका प्रजाती, भेषभुषा चराचुरुङ्गी लेकाली फूलहरुको अवलोकन गर्दै पैदल यात्रा गर्दा थकान कुनै महसुस नहुने दैलेख रानीवनका सुर्यबहादुर शाहीले बताए । ‘एकदमै मनोरम दृश्य हेर्नका लागि महावै नै उपयुक्त ठाउँ हो ।’ उनले भने,–‘हिमाल हेर्नका लागि यो एउटा राम्रो गतब्य हो ।’
पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटकहरु साउन, भदौमा बढी हुन्छन् । हिउँदमा टम्म हिउँपर्ने भएकाले पनि पाटन पुग्न मुस्किल हुने गर्दछ । त्यहाँ पुग्नेहरु शिवको दर्शनअघि पाटनमै बगेको खोलामा नुहाएर २५ मिनेट ठाडो लेकमा पुगेर शिवलिङ्ग पुजा समेत गर्दछन् ।
महावै पाटन उक्लिएपछि चारैतिरबाट चिरेर आएको चिसो चिसो हावाको बेगले शरिर थररर काम्न थाल्छ । माथि लेखको ठुलाठुला ढुङ्गाको काखमा रहेको शिवलिङ्गको दर्शन गरी धर्मकर्म गर्नुका साथै पाटनका सुन्दर दृश्य समेत देख्न सकिने पचालझरना गाउँपालिकाका नरबहादुर ऐडीले बताए ।
पाटनमा फुलेका रंगीविरगी फुलहरुले यात्रा अवधीभरको थकान नै मेटीने गर्दछ । पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अध्यारो बनाईदिन्छ त कहिले सिमसिमे पानीसगै हावाको वेगले फुलहरु हल्लिरहेका हुन्छन् । छिनछिनमा मौसम बदलिरहदाँ महावु पुग्ने जो कोही पनि दंग पर्ने गर्दछन् । लेकमै रहेको पोखरी र पोखरी आसपास ढकमक्क फुलेका फूलहरु फूल्ने गरेको महावै गाउँपालिका मनराज शाहीले बताए । ‘हिउँ खेल्न वा गर्मी छल्न आन्तरिक पर्यटन हरेक मौसममा महावै पुग्ने गर्दछन् ।’ उनले भने,‘रक्षाबन्धनको दिन भने महावैमा विशेष रुपमा पुजा गरिन्छ ।’
७ महिना बढी हिउँ पर्ने महावै जिल्लाकै प्राकृतिक सौन्दर्यको धनी मानिन्छ ।
महावैमा बर्षा याममा जानेका लागि कालिकोट र दैलेखबाट चरनका लागि भेडाबाख्रा र गाई भैसीका गोठहरुमा बस्न सकिने गोठालाहरुको दैनिक जीवनका बिषयमा पनि अध्यायन गर्न सकिने कालिका गाउँपालिका नरप्रसाद आचार्यले बताए । ‘बर्षा याममा कालिकोट र दैलेखका भैसी, घोडा र भेडाबाख्रा चरनका लागि पाटनमा ल्याएका हुन्छन् ।’ उनले भने, ‘तिनकै गोठालाहरुसँग बसेर जीवनका बिषयमा अध्यायन गर्न पाइन्छ ।’