२०७९, ९ आश्विन आईतवार

खेलाडी विदेश पलायन : बाध्यता कि रहर ?

खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ। हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन।

जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन्। राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरू पलायनको बाटो रोजिरहेको कतिपय खेल विज्ञहरू बताउँछन्।

तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन। यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ।

केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए। यो एउटा आलो घटना हो। तर, यो बाहेक पनि धेरै राष्ट्रिय खेलाडीहरू नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेका घटना छन्।

नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकारलगायत विभिन्न एकल विधाका खेलाडीहरू विदेश पलायन भइसकेका छन्।

पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको सर्वत्र दृष्टान्त छन्। अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन्।

खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन्। उनीहरूको वैकल्पिक रोजाई विदेश बन्ने गरेको छ। विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरूले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन्।

यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ। नेपाली खेलकुदलाई नियालिरहेका खेल विज्ञ सुशिल नरसिंह राणाले आशा नभएपछि खेलाडीले विकल्प खोज्नु बाध्यात्मक परिस्थित रहेको बताउँछन्।

राणाले खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको औँल्याए। नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरू पैसामा नदौडिने बताए।

तर, पछिल्लो समय खेलमा राजनीति हावी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको बताए।

विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नका लागि वर्षभर व्यस्त रहने खेल तालिका र योजनासहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने खेल विज्ञ राणा सुनाउँछन्।

‘आशा नभएपछि पलायन हुनु ठूलो विषय होइन। सबैभन्दा महत्वपूर्ण विषय नेपाली खेलाडीलाई पैसा मात्र हुने। उनीहरूका लागि बाँध्ने संयन्त्र राज्यस्तरबाट छैन। खेलाडीलाई सबै महिना व्यस्त बनाउने संयन्त्र राज्यस्तरबाटै हुनसकेको छैन।

नेपाली खेलाडी पैसाको लागि मात्रभन्दा पनि नाम, इज्जत र प्रतिष्ठाको लागि पनि खेल्छन्’, उनले भने।

खेलकुदमा निकै राजनीति हावी भएको उनले बताए। ‘तल्लो स्तरदेखि माथिल्लो तहसम्म राजनीति हावी छ। खेलकुदमा जीवन अर्पण गरेका प्रोफेसनल मान्छेहरू खेलभन्दा टाढा छन्।

उनीहरूले टुलुटुलु हेर्नुको विकल्प छैन। खेलाडी पलायनका खबरहरू दिन प्रतिदिन सुनिरहनु पर्ने अवस्था छ। प्रोफेसनल मानिसहरू कुनै ठाउँमा छैनन्। नेतृत्वमा आउने मान्छे पनि प्रोफेसनल भएन, उसलाई साथ दिने मान्छे पनि राजनीति पछिबाट जोडिएको छ’, उनले भने, ‘ विगतलाई हेर्दा कुनैपनि संघको कार्यक्रमको क्यालेन्डर निश्चित हुन्थ्यो।

तोकिएको समयमा खेल हुन्थे। खेलाडीले मेहनत गर्थे, खेलाडी बाँधिन्थे। अहिले सबैतिर अन्योल नै अन्योल छ।’

राज्य स्तरबाट खेलाडीहरूको सामाजिक सुरक्षाका लागि प्रभावकारी योजना बुन्न नसकेको यथार्थ हो। विभागले केही हदसम्म खेलाडीलाई रोजगारीको निश्चितता गरेर टिकाउने प्रयास गरिरहेकाे छ। अहिले तीन विभागले धानेको नेपाली खेलकुद अड्किएको छ भन्दा फरक नपर्ला।

त्यस बाहिरका खेलाडीको अवस्था दयनीय बन्दै गएको छ। नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एशियन गेम्स, दक्षिण एशियाली खेलकुद हुन्। यी प्रतियोगितामा सहभागिताका लागि उपयुक्त किसिमको प्रतिस्पर्धात्मक प्रतियोगिताको अभाव छ।

तय भएका राष्ट्रिय प्रतियोगिता पटकपटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन्। तर, अहिले विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेल विज्ञ राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताए।

विगतको अवस्था भन्दा अहिले खेलाडीलाई निजी स्तरबाट आयोजना हुने प्रतियोगिताबाट आर्थिक आर्जन गर्ने अवस्था फराकिलो भएको भएपनि दीर्घकालीन नभएको उनको बुझाई छ।

राज्य स्तरबाट कुनैपनि खेलाडीको करियर पश्चात भविष्य सुनिश्चितताको व्यवस्था भए खेलाडी विदेश पलायन हुनबाट रोकिने राणाले बताए।

नेपाली खेलकुदमा विश्वस्तरका भौतिक पूर्वाधारको अभाव छ। खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन। भविष्यको प्रत्याभूति नहुँदा धेरै र राम्रा खेलाडीहरू विदेश पलायन भइरहेका हुन्। यो क्रम बढ्ने क्रममा रहेको छ।

कराँतेबाट नेपाली खेलकुदलाई धेरै पटक पदक दिलाएका दीपक श्रेष्ठले विगतमा खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताउँछन्।

श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भएपनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रुपमा खेल छाड्ने गरेका बताए।

नयाँ खेलाडीलाई टिकाउने आधार राज्यस्तरबाट बनाउनुपर्ने आवश्यकता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँगका अध्यक्षसमेत रहेका श्रेष्ठले बताउँछन्।

राज्य स्तरबाट खेलाडीलाई टिकाउनका लागि उच्च स्तरबाट नै योजनाहरू बनाएको अवस्थामा खेलाडी पलायन रोक्न सकिने उनले बताए।

‘नयाँ खेलाडीलाई टिकाउने आधार राज्यबाट निर्माण गर्नुपर्छ। विगतमा राम्रो नतिजा ल्याउने खेलाडीलाई जागिरको व्यवस्था हुन्थ्यो र हामी अहिले यो अवस्थामा छौँ। तर अहिले फरक छ। पहिलो खेलकुद अगाडि बढेको थियो। आठौँ साफ अघि राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई आफ्नो खेलमा स्वरोजगारको अवसर थियो। आफू भिजेको खेलमा जोडिन पाउँदा भविष्य सुनिश्चित थियो। तर, १२ औँ साफपछि त्यो अवस्था रहेन’, उनले भने, ‘अहिलेका खेलाडीले खेलेर के पाउने त ? भोलि व्यवहारिक अवस्थामा जानुपर्ने हुन्छ। उर्वर समय व्यतीत गरेपछि भविष्यको अन्योलताले खेलाडी पलायन भइरहेका छन्। नयाँ खेलाडी आफूले चाहेको देशमा जानका लागि खेलकुदलाई माध्यम बनाइरहेको अवस्था छ। यसलाई न्यूनीकरण गर्न राज्य स्तरबाट खेलाडी रोक्ने योजनाहरू ल्याउनु आवश्यक छ।’ उनले भने।

राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रुपमा रोजगारी दिँदै आएपनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन।

यस बाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन्। खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ। एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन्। यो लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ।