सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, आठ जना बिरामी
सुर्खेत : सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । शारदा नगरपालिका–४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।
उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।
शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन् ।
मृतक बालिका पनि केशरकी छोरी रहेको डिएसपी खड्काले जानकारी दिए ।
जंगली च्याउको तरकारी खाएका उनीहरू बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो ।
जोन बस्नेत र जोशना बस्नेतलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो । जसमध्ये जोशनाको मृत्यु भइसकेको छ । जोनको भने सुर्खेतमा उपचार जारी छ ।
त्यस्तै बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको डिएसपी खड्काले जानकारी दिए ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका–९ जैतपानीका ४८ वर्षीया भुपबहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली, २१ वर्षीया बुहारी सुशिला वली पनि जंगलबाट ल्याएर च्याउ खाँदा बिरामी छन् ।
बिरामी भएपछि शुक्रबार राति सवा ९ बजेतिर जिल्ला अस्पताल सल्यानमा पु¥याइएका उनीहरू थप उपचारका लागि तत्कालै (राति नै) प्रादेशिक अस्पताल सुर्खेत रिफर गरी उपचार भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
