महावु मेलाका लागि कालीकोट र दैलेखका स्थानीय तहले सडक मर्मत गर्ने
सुर्खेत : कालीकोट र दैलेखको सिमानामा पर्ने महावु लेकमा लाग्ने महावु मेलाका लागि कालीकोट र दैलेखका स्थानीय तहले संयुक्त रुपमा सडक मर्मत गर्ने भएका छन् । यही साउन २६ गते लाग्ने महावु मेलाका लागि दुई जिल्लाका स्थानीय तहले भक्तालुलाई मेलासम्म जानका सहज वातावरण बनाउन सडक मर्मत गर्ने भएका हुन् ।
प्रसिद्ध धार्मिक पर्यटकीय स्थल महाबु लेखमा लाग्ने शिवजी मेलाको पूर्व सन्ध्यामा कालीकोट महाबै गाउँपालिका र दैलेख नारायण नगरपालिका, नौमुले गाउँपालिका र महाबु गाउँपालिकाले भक्तालुहरुको सजिलोको लागि संयुक्तरुपमा सडक मर्मत गर्ने भएका निर्णय गरेका छन् ।
बिहीबार दैलेख नारायण नगरपालिका नगर प्रमुख, नौमुले गाउँपालिका अध्यक्ष र महाबु गाउँपालिका अध्यक्षसँग भेट भएर आफ्नो–आफ्नो क्षेत्रको भाग परेको सडकलाई मर्मत गर्ने सहमति भएको कालीकोट महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । ‘भक्तजनलाई मेलासम्म सडक मार्गबाट नै जान सजिलोका लागि सडक मर्मत सहमती भएको छ ।’ उनले भने,‘ साउन २५ गतेभित्र नै सडक मर्मतको काम सकिने छ ।’
दैलेखकोे नारायण नगरपालिकाको बजार क्षेत्रदेखि ओखडबाससम्म नारायण नगरपालिका, ओखडबासदेखि महाबु लेखसम्म नौमुले गाउँपालिका, र महाबु गाउँपालिका दैलेखले र महाबुदेखि सिम्खेतसम्म महाबै गाउँपालिका कालीकोटले सडक बनाउने गरी सहमति भएको अध्यक्ष सिंहले जानकारी दिए ।
प्रत्येक वर्ष जनै पूर्णीमाको दिनमा भव्य मेला महावु लेकमा भब्य मेला लाग्ने गर्दछ । यो स्थानमा ढुङ्गाबाट बनेको शिवलिङ्ग रहेको छ । जनै पूर्णिमाको दिनमा मुख्य पूजा गरिने भएकोले यो स्थानमा भगवान शिवको दर्शन गर्नको लागि दैलेख, कालीकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, काठमाडौँएगायत भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।