२०८१, १ मंसिर शनिबार

ग्रामीण क्षेत्र सडकले जोडिएपछि खच्चड व्यवसायी संकटमा

बागलुङ : दशक अगाडिसम्म बागलुङको अधिकांश क्षेत्रमा लामबद्ध रुपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी साबित भएका खच्चड अहिले कामविहीन बनेका छन्।

ग्रामीण क्षेत्रमा मोटरबाटोले नजोडिँदा खच्चडमार्फत आय आर्जन गर्ने व्यवसायी अहिले थला पर्दै गएका छन्। उनीहरुले अर्को व्यवसाय रोज्नु पर्ने बाध्यता बनेको छ।
जिल्लाका सबै गाउँहरु सडक सञ्जालले जोडिएपछि घोडा, खच्चडको प्रयोगमा कम हुँदै गएको छ। घोडा, खच्चडको प्रयोग घटेसँगै खच्चड व्यवसायी समस्यामा परेका हुन्।

सडक संजालसँगै ग्रामीण क्षेत्र नजोडिएको समयमा पश्चिम बागलुङको बुर्तिवाङ, ढोरपाटन, निसेलढोर, तमान, बोङ्गादोभान, खुङ्खा, निसी, भल्कोटलगायतका विकट गाउँ–गाउँमा देखिने खच्चड अहिले देख्नै मुस्किल छ।

मध्यपहाडी लोकमार्ग नजोडिँदासम्म खच्चडमा बाहेक अरुमा सामान ढुवानी गर्ने विकल्प थिएन। जिल्लाका विभिन्न बजारहरुमा पनि खच्चडले नै सामान ढुवानी गर्ने गर्थे। जब लोकमार्ग र अन्य सडकले बजार तथा गाउँहरु जोडिए, त्यसपछि घोडा खच्चडको प्रयोग कम हुँदै गयो।

खच्चड व्यवसायीले हिउँदको समयमा काम नपाए पनि वर्षात्‌काे समयमा भने काम पाउँछन् तर सबै व्यवसायीले काम पाउन गाह्रो छ। वर्षात्‌को समयमा बाढी पहिरोका कारण सडक अवरुद्ध हुने हुँदा सामान ढुवानीका लागि केही व्यवसायीले काम पाउने गरेका छन्। केन्द्र सरकारसँगै स्थानीय तहले गाउँ–गाउँ मोटरबाटो पुर्‍याएपछि अहिले गाडीले नै सामान ढुवानी गर्न थालेको छ। यसले गर्दा खच्चड व्यवसायी निरास भएका छन्।

गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामाग्रीको ढुवानीका निम्ति घोडा, खच्चडको प्रयोग गर्ने गरेको ढोरपाटन नगरपालिका वडा नम्बर ९ ढोरपाटनका खच्चड व्यवसायी मंगले कामीले बताए। उनले अहिले खच्चडको काम नहुँदा पाल्न समेत गाह्रो हुन थालेको गुनासो गरे।

‘पहिले त घोडा खच्चड हुने मान्छे निकै धनी मानिन्थे, अहिले त्यो भन्दा गरिब अरु छैनन् होला, घोडा खच्चडको कामै छैन अहिले, काम नभएपछि पाल्न पनि गाह्रो भएको छ,’ उनले भने ‘काम पाउँदा त दाना किनेर खुवाउने, बलियो बनाउने गरिन्थ्यो अहिले त कमाई सुको पैसा छैन, दाना खुवाउन सक्ने अवस्था पनि छैन।’

व्यवसायी कामीले अहिले गाउँ–गाउँमा सडक पुगेको भन्दै घोडा खच्चड प्रयोगविहीन बनेका बताउँछन्। सडकले धेरै सुविधा भए पनि घोडा खच्चड व्यवसायी विस्थापित हुने अवस्था आएको उनको भनाई छ। ‘गाडी नआउँदा घोडा खच्चडमार्फत ढोरपाटनमा उत्पादन हुने आलु सिमी लगायतका सामानहरु बेँसीतिर बेच्न लग्थ्यौँ, बेँसीतिरबाट चामल, नुन, तेल, लत्ता कपडा ल्याउने गर्थ्यौं,’ उनले भने ‘अहिले सडक गाउँमै आएको छ, सबै सामान गाडीले घर–घरमै पुर्‍याउँछ, त्यसले गर्दा घोडा खच्चडको कामै छैन, अब यो न कसैले किन्छ, हामीहरू समस्यामा पर्‍यौँ।’

तमानखोला गाउँपालिका वडा नम्बर ३ का मनबहादुर रसाइलीले सडकले खच्चड व्यवसायी मर्कामा परेको गुनासो गरे। उनले सडकले धेरै सहजता लिए पनि आफूहरुको गरी खाने माध्यम बन्द हुने अवस्थामा आएको दुखेसो पोखे।

‘गाउँ–गाउँमा मोटरबाटो आयो, धेरै सुविधा पनि भएको छ, दुःख बिमारी हुँदा सजिलै अस्पताल पुगिन्छ, तर हामी जस्तो खच्चड व्यवसायी त निकै ठूलो मारमा पर्‍याैँ, गरिखाने पेसा नै धरापमा छ’, रसाइलीले भने ‘बाटो आए पनि २/३ वर्ष अगाडिसम्म त अलिअलि काम त हुन्थ्यो, अहिले त काम पाउनै गाह्रो छ, कहिलेकाहीँ पायो भने पनि पहिलाको जस्तो पैसा दिँदैनन्, अहिले घोडा खच्चड पाल्नसक्न पनि छोडियो, कमाई नै हुँदैन, केले दाना किनेर खुवाउने ? आफूलाई नै विहान बेलुकाको छाक कसरी टार्ने हो चिन्ता हुन थाल्यो।’

रसाइलीले ३/४ दिनको यात्रा गरेर २२ वटा खच्चडमा सामान ढुवानी गर्ने गरेको स्मरण गर्दै अब त्यस्ता दिन अहिल्यै नआउने बताउँछन्। ‘खस्यौली, बटौली (बुटवल) बाट हप्ता दिनभन्दा बढी समय लगाएर दोकानहरूमा सामानहरु ल्याउने गर्थ्याैं, काम त भ्याइ नभ्याई हुन्थ्यो, कमाई पनि उस्तै राम्रो हुन्थ्यो,’ उनले विगतलाई सम्झिँदै भने ‘अहिले न काम न दाम। काम जति सबै गाडीले पाउँछ, हामीले केको काम पाउनु ?, खच्चड उतिबेला बेचेको भए लखपति बनिन्थ्यो, होला अहिले सडकपति बनियो।’

उनले अहिले घोडा पालनमा चुनौती थपिएको सुनाए। काम नपाएपछि घोडा पालनमा कुनै फाइदा नभएको भन्दै बेच्न खोजे पनि बिक्री नहुने रसाइली बताउँछन्।

‘कसैले किन्ने भए त थोरै दाममा भए पनि बेच्ने थिएँ, तर किन्ने ग्राहक नै पाइँदैन, उतिबेला बेचेको भए धेरै कमाई हुन्थ्यो, अहिले यस्तो समस्या आउने थिएन।’ खच्चड व्यवसायीहरु अहिले आर्थिक हिसाबले संकटमा त परेकै छन्, त्यसमाथि सयौँ खच्चड कसरी पाल्ने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ।