कर्णाली करिडोर एक सातादेखि बन्द
सुर्खेत : कर्णाली करिडोर अन्र्तगतको कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–८ को लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएका कारण यातायात सञ्चालन हुन नसकेर बन्द भएको हो ।
सडकमा गाडी फसेका कारणले एक सातादेखि नै बन्द रहेको अहिले पनि खुल्न नसकेका कारणले लामो समयदेखि आफुहरु बीच बाटोमा अलपत्र परेको ट्रक चालक महावीर खड्का बताए । ‘म बाजुराको लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ ।’ उनले भने,‘अगाडी गाडी फसेका कारणले अहिले सडक सञ्चालनमा आउन सकेको छैन् ।’
फसेको गाडी निकाल्ने कुनै साधन नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन् । हिलो सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्काको भनाई छ ।
हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले पनि खुला गर्न पहल नथालेको पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले बताए । ‘सडक खुलाउने बिषयमा सडक डिभिजन कार्यालयको ध्यान गएको छैन् ।’ उनले भने,‘अहिले करिडोरको सडक दैनिक जसो अबरुद्ध हुने गरेको छ ।’
स्थानीय सरकारले सडक खुलाउनका लागि पहल थालेको अहिले सडक खुलाउनका लागि डोजरको आवश्यकता रहेका कारणले डोजरको खोजी भइरहेको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजंग शाहीले बताए । ‘सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरेका थियौं । नजिकमा डोजर नभएका कारणले सडक खुलाउन समस्या भएको हो ।’ उनले भने,‘डोजर आउना साथ सडक खुलाउन काम हुनेछ ।’
