२०७९, ९ आश्विन आईतवार

तरकारीमा बिषादी नियन्त्रण आवश्यक

नेपालमा कृषिले अर्थतन्त्रमा गर्ने योगदान क्रमशः घट्दै गएको छ । झन्डै डेढ दशकयता बढेको बेमौसमी खेती र मौसम या याममै पनि बढी उत्पादन र बढी मुनाफा कमाउने होड र सुरक्षित भण्डारणको नाममा तरकारी, फलफूल तथा खाद्यान्नमा मानव स्वास्थ्यमा गम्भीर हानि पु¥याउने विषादी र रसायनहरू प्रयोग गर्ने प्रवृत्ति बढेको छ, जसले सबैलाई चिन्तित तुल्याएको छ । सरकारी तथ्याङ्कका अनुसार मुलुकमा वार्षिक झन्डै साढे ३ सय मेट्रिकटन रासायनिक विषादी आयात हुने गरेको छ । कृषि विभाग बाली सरक्षण निर्देशनालयले नेपालमा गत वर्ष ४५४.६ मेट्रिकटन विषादी आयात भएको र आयातीत विषादीमध्ये झन्डै ८५ प्रतिशत तरकारी प्रणालीमा आधारित सघन खेती भएका स्थानमा प्रयोग भइरहेको जनाएको छ । जबकि अवैध रूपमा तस्करीका माध्यमबाट पनि ठूलै मात्रामा गुणस्तरहीन र हानिकारक विषादी भित्रिने गरेको छ । यसरी भित्रिने विषादीको जथाभावी प्रयोग, असुरक्षित भण्डारण एवं अव्यवस्थित विसर्जनका कारण मानव स्वास्थ्य एवं वातावरणमा नकारात्मक असर परेको छ ।
विषादीको नकारात्मक प्रभावको चर्चा धेरै अघिदेखि चले पनि कृषि उत्पादनमा विषादी परीक्षण नभएकाले यो कुरैमा सीमित थियो । यसले विषादीको प्रयोग दिनदिनै बढिरहेको थियो, जसबाट विषादी विक्रेता तथा खासगरी तरकारी र फलफूलका बिचौलियाले अनुचित लाभ लिएका थिए भने कृषक र उपभोक्ता यसको मारमा परेका थिए । सो प्रविधिबाट गरिएका परीक्षणको परिणामले ताजा तरकारी र फलफूलमा प्रयोग हुने गरेको विषादीको स्थिति भयावह रहेको देखिएको थियो । कालीमाटीमा थालिएको परीक्षणले विषादी प्रयोगको गम्भीर अवस्था देखाएपछि सम्बन्धित निकाय यसप्रति गम्भीर भए, जसले तरकारी र फलफूलमा विषादीको अवशेष देखिएमा जफत गरी नष्ट गरिनुका अतिरिक्त त्यस्ता कृषक र व्यवसायीलाई कारबाही गर्ने नीति लिइयो । यसपछि यसमा केही सुधार पनि देखिन थाल्यो, तर सीमित स्थानमा हुने यस्तो परीक्षणलाई छल्ने काम भने जारी नै छ ।