२०८१, ७ बैशाख शुक्रबार

सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान

सल्यान : सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ। फिलिङ सिस्टम सहितको प्लान्टबाट ४० लिटर क्षमताको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने छ।

यसअघि जिल्लामा अक्सिजन प्लान्ट नहुँदा खाली सिलिन्डर रिफिल गर्न दाङ, नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो। अब अक्सिजन जडान सिलिन्डर रिफिल गर्न अन्य जिल्ला जानुपर्ने बाध्यता हटेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथकुमार श्रेष्ठले बताए।

अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेपछि सल्यानसँगै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका नागरिकलाई समेत सहज हुने अस्पतालले बताएको छ। अब जिल्लामा अक्सिजन नपाएर कसैले पनि ज्यान गुमाउनु नपर्ने अस्पतालले बताएको छ। प्लान्टबाट पाइपलाइनबाट बेडमा अक्सिजन जडान गरिनुका साथै छुट्टै सिलिन्डर पनि भर्न सकिने श्रेष्ठको भनाइ छ।

जडान गरिएको प्लान्टबाट अस्पतालमा अक्सिजन अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष चन्द्रप्रकाश वलीले बताए। अन्य स्थानमा समेत मागअनुसार उपलब्ध गराइने उनले बताए।

अस्पतालमा रोल्पा र रुकुमका धेरै बिरामी उपचारका लागि आउने गरेका छ्न्। अस्पतालमा दैनिक १५० देखि २ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको डाक्टर अभिषेक सिंहको भनाइ छ।

संघीय सरकारको ७१ लाख बजेटबाट अक्सिजन प्लान्ट जडान गरिएको हो।