नेपालमा राष्ट्रिय धान दिवस
सुर्खेत : किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं भन्ने नाराका साथ राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदछन् ।
यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् ।
खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो ।
यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ ।
सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।
