२०८३, १७ असार बुधबार

भाेलीदेखी कर्णालीमा भारी वर्षाकाे चेतावनी

सुर्खेत : मंगलबारदेखि मनुसनको प्रभाव नेपालका विभिन्न ठाउँहरूमा हुने चेतावनी जल तथा माैसम पूर्वानुमान महाशाखाले दिएकाे छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै बिहीबारसम्म मनुसन थप सक्रिय हुने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन आग्रह गरेको हाे ।

मंगलबारदेखि बिहीबारसम्म कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले सूचनामा उल्लेख गरेकाे छ ।महाशाखाका अनुसार असार १२ गते सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली पुगिसकेको छ ।

योसँगै देशभरी मनुसनी वायुको प्रभाव थप सक्रिय भएको महाशाखाले जानकारी दिएको छ । मंगलबारदेखि बिहीबारसम्म मनुसनको न्यूनचापीय रेखा नेपालको तराई भू-भागको नजिक आइपुग्‍ने सम्भावना रहेकाले थप सक्रिय हुने बताइएको छ ।

धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षासँगै प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाले मध्यम तथा भारी वर्षाका कारण देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको जनाएको हो । ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागले प्रक्षेपण गर्दै सबैलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु अनुरोध समेत गरेको छ ।गत जेठ २२ गते प्रदेश नम्बर १ हुँदै मनसुन भित्रिएको थियो ।