२०८१, ७ बैशाख शुक्रबार

कर्णाली करिडोर निर्माण सम्पन्नको भाखा सँधै ‘एक वर्ष’

सुर्खेत : सरकारले आगामी एक वर्षभित्र कर्णालीको हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दाबी गरेको छ । तर त्योअनुसारको कामले गति लिन भने सकेको छैन ।
हुम्लालाई सडक सञ्जालमा जोड्न सरकारले २०७१ सालदेखि कर्णाली करिडोर निर्माण शुरु गरेको हो । तर काममा ढिलाई हुँदा हुम्ला सदरमुकाम सिमकोटमा अहिलेसम्म सडक पुगेको छैन ।
२०७० साल यताका सबैजसो सरकारले एक वर्षभित्र हुम्लामा गाडी पुर्याउने घोषणा गरे पनि खासै काम हुन सकेको छैन । अब १० किलोमिटर सडक बने हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर बिसुनदास लामाले जानकारी दिए ।
१० किलोमिटमध्ये ७ किलोमिटरमा चट्टान फुटाउन सरकारले एक महिनाअघि नै नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिसकेको छ । बाँकी ३ किलोमिटरमा भने ठेकेदारमार्फत् काम हुने लामाको भनाइ छ ।
कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि सिमकोटसम्मको १ सय ७३ किलोमिटरमध्ये १ सय ६३ किलोमिटरको ट्रयाक खुलिसकेको छ ।
खुलालुदेखि सरिसल्लासम्मको १ सय २३ किमिको निर्माण कार्य नेपाली सेनाले गरेको हो । बाँकी ४० किलोमिटरमा सडक डिभिजन कार्यालयमार्फत् ट्रयाक खोलिएको हो ।
अहिलेसम्म कर्णाली करिडोर निर्माणमा १ अर्ब ५ करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।
करिडोरमा भारी हिमपातका कारण मंसिरदेखि चैतसम्म काम गर्न निकै समस्या हुने गरेको छ । अर्कोतर्फ ठाउँ ठाउँमा भेटिने कडा चट्टानका कारण पनि सडक निर्माणमा समस्या उत्पन्न भएको निर्माण पक्षको भनाइ छ ।
सरकारले भारतको रुपैडियादेखि चीनको हिल्सासम्म सडक सञ्जालले जोड्न कर्णाली करिडोरको अवधारणा अघि सारेको हो ।
कर्णाली करिडोर अन्र्तगत नौं वटा पुल बन्दै
कर्णाली करिडोरमा नौं वटा पक्की पुल निर्माण हुने भएका छन् । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १३ वटा पक्की पुल निर्माण हुने भएका हुन् ।
कर्णाली करिडोर अन्र्तगत पर्ने कालीकोट सडकखण्डको खुलालु खोला, सान्नीघाट खोला र फुगाड खोला पक्की पुल निर्माण हुने भएको हो । बाजुराको जुड्डी खोला, बुढीगाड खोला, गल्फगाड खोला र कवाडी खोला पक्की पुल निर्माण हुने भएको हो ।
त्यस्तै, हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने सडक डिभिजन कार्यालय हुम्लाले जनाएको छ ।
पक्की पुलका लागि ठेक्का प्रक्रिया अगाडी बढेको सडक डिभिजन कार्यालय हुम्लाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए । ‘ठेक्का प्रक्रिया अगाडी बढेको छ ।’ उहाँले भन्नुभयो,‘यी खोलामा चाडै पक्की पुल निर्माणको काम अगाडी बढ्छ ।’
सडक खण्ड फराकिलो पारिदैँ
कर्णाली करिडोर अन्र्तगत कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
कालीकोट जिल्लामा पर्ने ४२ किलो मिटर सडक फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको सडक फराकिलो पार्ने काम शुरु भएको हो ।
सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम शुरु गरेको सडक डिभिजन कार्यालय हुम्ला सिमकोटले जनाएको छ ।
कर्णाली करिडोर साघँुरो हुदा यातायात सञ्चालनमा समस्या भएका कारणले फराकिलो पार्न लागिएको सडक डिजिभन कार्यालय हुम्लाका इन्जिनियर यादवले बताए । ‘सडक फराकिलो पार्ने पहिलो चरणको काम शुरु भएको छ ।’ उनले भने,‘अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ ।’
करिडोर अन्र्तगतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ ।