२०८३, १७ असार बुधबार

सल्यानका छुट्टाछुट्टै दुर्घटनामा ७ जना घाइते

सल्यानमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा ७ जना घाइते भएका छन्। जिल्लाको कपुरकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएका दुर्घटनामा सात जना घाइते भएका हुन्।

 

कपुरकोट रोल्पा सडक खण्डको कपुरकोट गाउँपालिका ३ घुम्तीमोडमा दाङ तुलसीपुरबाट कपुरकोट गाउँपालिका २ गर्पा जाँदै गरेको रा १ ज ४६० नम्बरको जीप दुर्घटना भएको छ।

दुर्घटनामा परी कपुरकोट गाउँपालिका १ का २९ वर्षीय खिम बहादुर पुन, ३५ वर्षीय सुवर्ण कुमार घर्ती, ६२ वर्षीय भद्री बुढा, वडा नं. ५ वस्ने ८० वर्षीय कलसी बस्नेत, वडा न २ बस्ने ६५ वर्षीय पार्वती वली र रोल्पा रन्टीगढी गाउँपालिका ८ की ६३ वर्षीय वनिकला घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते सबैको अवस्था सामान्य रहेको र उपचारका लागि दाङ तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

जीप अनियन्त्रित भएर सडकमै पल्टिएको र चालक दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ३३ वर्षीय हरि डाँगीलाई नियन्त्रणमा लिइएको छ। जीपमा १२ जना यात्रु सवार रहेकोमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका १२ मसिनामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। निगालचुलाको भदालेबाट सुर्खेतको बोटेचौर तर्फ जाँदै गरेको भे १ त ८८४१ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको सूचना अधिकारी खनालले बताए।

घाइते हुने ट्याक्टर चालक जाजरकोट शिवालय गाउँपालिका ३ का अन्दाजी २० वर्षीय ललित थापा रहेका छन्। उनको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।