२०८३, १७ असार बुधबार

रुकुम पश्चिमका ६२ हजार बढीको स्वास्थ्य बीमा

सुर्खेत -:  रुकुम पश्चिममा ५ वर्षको अवधिमा ६२ हजार १ सय ५४ जनाले स्वास्थ्य बीमा गराएका छन् । २०७४ चैत्र १ गतेदेखि रुकुम पश्चिममा यो बीमा कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत हालसम्म ६२ हजार १ सय ५४ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका हुन् ।
चौरजहारी नगरपालिकामा २३ हजार २ सय १३, आठबीसकोट नगरपालिकामा १० हजार ९ सय ३०, मुसीकोट नगरपालिकमा ९ हजार १ सय ३, जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै सानीभेरी गाउँपालिकामा १० हजार ४ सय ८३, बाँफिकोट गाउँपालिकामा ४ हजार ७ सय ९०, र त्रिवेणी गाउँपालिकामा ३ हजार ६ सय ३१ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
सबै भन्दा बढी चौरजहारी नगरपालिकामा २३ हजार २ सय १३ र सबै भन्दा कम त्रिवेणी गाउँपालिकामा ३ हजार ६ सय ३१ जनाले स्वास्थ्य बीमा गरेका छन् । सुरुको वर्ष स्वास्थ्य बीमाप्रति मान्छेको आकर्षण नभए पनि पछिल्लो दुई आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ मा भने स्वास्थ्य बीमा बनाउनेको आकर्षण बढेको रुकुम पश्चिमका बीमा दर्ता अधिकारी कमल डाँगीले जानकारी दिए ।
स्वास्थ्य बीमा दर्ता अधिकारी डाँगीका अनुसार वैशाख, जेठ, असारमा स्वास्थ्य बीमा गराएकाले भदौ १ गते बाट स्वास्थ्य बीमाको सेवा पाउँछन् । त्यस्तै साउन, भदौ र असोजमा बीमा गरेकाले मंसिर १ गते बाट बीमाको सेवा सुरु हुने बताउनुभयो । तीन महिनाको अवधिमा बीमा दर्ता प्रक्रिया हुने भएकाले ४ महिनाको पहिलो दिन अर्थात १ गते देखि बीमाको सेवा सुरु हुने डाँगीले बताए ।
बीमाको अवधि एक वर्ष हुने भएकाले हरेक वर्ष बीमाको नविकरण गर्नुपर्छ । सुरुमा बीमा गर्दा ५ जना सदस्य भएको एक परिवारले ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ भने ५ जना भन्दा हरेक एक जना बढ्दै जाँदा थप ४ सय रुपैयाँ तिर्नुपर्छ । नविकरण शुल्क पनि त्यसरी नै लाग्ने गरेको छ । स्वास्थ्य बीमा गरेका विरामीहरुलाई सम्भव भएको उपचार जिल्ला अस्पताल सल्ले मै हुने र जिल्लामा सम्भव नभएका विरामीलाई जिल्ला बाहिर पनि बीमाबाटै उपचार हुन्छ ।