२०७९, २० असार सोमबार

कर्णाली सरकारले विपन्न परिवारलाई घर बनाइदिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न नागरिकका लागि घर निर्माण गर्ने भएको छ । प्रदेश सरकारले बादी, गाइने, राउटे, बोटे, राजी, दलित, विपन्न, मुसलमान तथा लोपोन्मुख र अति सीमान्तकृत जात वा समुदायका विपन्न वर्ग लक्षित गर्दै घर निर्माण गरिदिने भएको हो ।
विपन्न समुदायका लागि आवास निर्माण कार्यविधि कार्यान्वयनको चरणमा रहेको यसका लागि स्थानीय तहलगायत जिल्ला समन्वय समितिसँग समन्वयको तयारी भइरहेको भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले बताए । ‘कार्यक्रम कार्यान्वयनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र कार्यान्वयन समिति निर्माणको तयारी भइरहेको छ ।’ उनले भने,‘निर्वाचन क्षेत्र कार्यान्वयन समिति निर्माणपछि आगामी जेठ महिनासम्म विपन्न समुदायका लागि घर निर्माण कार्य शुरु हुनेछ ।’
प्रदेशमा विपन्न नागरिकका लागि घर निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याइएको छ । यो बजेटले कम्तीमा १०० घर बनाउने सरकारको लक्ष्य छ । विपन्नको घर निर्माण कार्यक्रममा सहभागी हुन लाभग्राहीले विभिन्न चरण पार गर्नुपर्ने हुन्छ ।
यसका लागि घर निर्माण गरिने स्थानमा बसोवास गर्दै आएको प्रमाणलगायतका कागजपत्र पेश गर्नुपर्ने छ ।
स्थायी बसोवासको प्रमाणसँगै जग्गाधनी प्रमाणपुर्जा वा घरजग्गाको तिरो बुझाएको कागजपत्र, विगतदेखि सो स्थानमा बसोवास गरी आएको भन्ने स्थानीय तहको सिफारिस, बिजुली, धारा वा अन्य सुविधाबापत शुल्क बुझाएको बिल भर्पाईलगायतका कागजपत्र पेश गर्नुपर्ने हुन्छ । यसका साथै हाल बसोवास गरिरहेको घरको भौतिक अवस्था, स्थानीय तहद्वारा लक्षित वर्ग भित्र परेको सिफारिसपत्रलाई लाभग्राही छनौटको आधारका रुपमा लिइएको छ ।
प्रदेशका हुम्ला, डोल्पा र मुगु जिल्लाका लागि चार लाख रुपैयाँ र अन्य जिल्लाका लागि ३ लाख ५० हजार रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।