२०७९, २७ श्रावण शुक्रबार

कर्णालीमा २७.५५ प्रतिशत जमिन बाँझो, परनिर्भरता बढ्दो

कर्णालीमा २७.५५ प्रतिशत जमिन बाँझो, परनिर्भरता बढ्दो
सुर्खेत । कर्णालीमा स्थानीय खाद्यान्न उत्पादनमा ह्रास हुँदै आएको छ । कर्णालीमा उत्पादन हुने स्थानीय बाली, जौं, कोदो, फापर, सिमी, चिनो, कागुनो, धान, मकैलगाएतका खाद्यान्न बाली उत्पादनमा ह्रास आएको हो ।
स्थानीय बाली उत्पादनमा कमी आउँदा अन्य क्षेत्रबाट आयात हुने खाद्यान्नको माग बढ्दै गएको छ । कर्णालीमा खेती योग्य जमिन मासिदै जादाँ र पुराना खाद्य बाली उत्पादनमा कमी आउँदा खाद्यान्न आयातमा बृद्धि भएको छ ।
कर्णालीमा खाद्यान्न उत्पादनमा कमी र खेती योग्य जमिन मासिदैँ जादा वार्षिक ३८ हजार ८ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मात्रै गत वर्ष झन्डै १ लाख क्विन्टल चामल बिक्री गरेको र बजारमा त्यसको झन्डै ४ गुणा चामल व्यापारीमार्फत बिक्री हुने गरेको खाद्य व्यवस्था र व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णालीमा १९ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउन सकिने भए पनि करिब २ हजार हेक्टरमा मात्र कोदो खेती गरिएको, त्यसबाट गत वर्ष २१ हजार मेट्रिक टन कोदो उत्पादन भएको र साढे ११ हजार हेक्टर क्षेत्रफलमा जौ खेती गर्न सकिनेमा करिब ५ हजार हेक्टरमा खेती गरिएको त्यसबाट गत वर्ष साढे १४ हजार मेट्रिक टन जौ उत्पादन भएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । ‘कृषकहरूले बढी उत्पादन गर्ने लोभमा स्थानीय बाली लगाउन छोड्दा कर्णालीमा खाद्य परनिर्भरता बढेको छ ।’ उनले भने,‘गत आर्थिक वर्षमा ४५ हजार ४ सय ४९ हेक्टर क्षेत्रफलमा १ लाख ५५ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन भएको थियो ।’
कर्णालीमा कुल जमिनको ९.९ प्रतिशत भूभागमा मात्रै खेती गरिएको र खेतीयोग्य जमिनमध्ये २७ .५५ प्रतिशत जग्गा अझै बाँझो रहेको रहेको प्रवक्ता केसीले बताए ।
कर्णालीका हिमाली जिल्लाको रैथाने बाली भनेर चिनिएको चिनो र कागुनो करिब ३ हजार हेक्टरमा खेती भइरहेको छ ।
जसमध्ये १७.५३ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध रहेको छ ।