२०८१, २ बैशाख आईतवार

सांसद विष्टले पदबाट राजीनामा दिए, सनाखत गर्न आएनन्

 

सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद ठम्मर विष्टले सांसद पदबाट राजीनामा गरेतापनि सनाखत गर्न भने आएका छैनन् । नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतकसमेत रहेका विष्टले सांसद पदबाट गएको शुक्रवार राजीनामा दिएका थिए ।

विष्टले चार दिनअघि इमेलमार्फत प्रदेश सभामा राजीनामा पेश गरेका थिए ।

सभामुख राजबहादुर शाहीले राजीनामा पत्र प्राप्त भएपनि स्वीकृत भने नभएको जानकारी दिए । ‘हामीले त्यसै पदमुक्त गर्न मिल्दैन् ।’ उनले भने,‘सनाखत गर्नका लागि कुनै सांसद प्रदेशसभा आफैँ आउनु पर्ने हुन्छ ।’

प्रदेशसभा सचिवालयको इमेलबाट राजीनामा पत्र प्राप्त भएको सभामुख शाहीले बताए ।

एमसीसी पास गर्दा पार्टी पनि सहमत भएको, गैर सांसदलाई मन्त्री बनाइएको र पार्टीमा राजनीतिक विचलन आएको भन्दै उनले सांसद पद र नेकपा माओवादीबाट राजीनामा पत्र पेश गरेका हुन् ।

‘सत्ताको लागि जे पनि गर्ने रणनीतिले जनयुद्ध, जनआन्दोलन, शहीद, घाइते, बेपत्ता परिवार र आम जनतामा निरासा मात्र होइन परिणामतः आम जनतामा कुठाराघातसमेत गरेको पुष्टि भईसकेको छ’ राजीनामा पत्रमा उल्लेख छ, ‘यस्ता स्खलनका अनेक श्रृंखला मध्य एमसीसी यसैको निरन्तरताको अर्को श्रृंखला रहेको पुष्टि भइसकेको छ ।’