२०७९, ५ जेष्ठ बिहीबार

मन्त्रिमण्डल बिस्तारबारे मुख्यमन्त्री भन्छन, बरु पद छोड्न तयार, मन्त्रालय फुटाइदैन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन भित्रका समस्याहरु समाधान गरेर केहि दिनमा नै मन्त्रिमण्डललाई पूर्णता दिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै तिन महिना पुग्नै लाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको भन्दै चरम आलोचना भइरहेको बेला मुख्यमन्त्री शाहीले सोमबार पत्रकार सम्मेलन गर्दै सत्ता गठबन्धन भित्रको भागबण्डा चाँडै टुङगिने बताए ।

गठबन्धन भित्र संख्यात्मक रुपमा मन्त्रालयहरु फुटाएरै भए पछि सरकारलाई पूर्णता दिने कुरा उठिरहेको भन्दै शाहीले मन्त्रालय फुटाउन तर्फ नलाग्ने बताए । ‘मैले त सफत लिएकै दिन सानै भए पनि मन्त्रिमण्डल बनाउन खोजेको हो,’ उनले भने, ‘तर गठबन्धन भित्र बिस्तारै बिस्तार गर्दै जाने कुरा भयो । बिचमा हामी सबै कुनै समय कसैको अधिवेशन, कुनै समय कसैको अधिवेशनमा व्यस्त भयौँ । अहिले गठबन्धन भित्र संख्यात्मक रुपमा केहि कुरा मिलेको छैन ।’
‘पछिल्लो समय मन्त्रालय टुक्राएर, सिट बढाएर भए पनि जाने भन्नेमा नेताहरु हुँदा खेरी म चाँही प्रष्ट के छु भने टुक्राएर फेरी बढाएर जान भन्दा म आफु छोड्न तयार हुनेछु’ मुख्यमन्त्री शाहीले भने ।

नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिए पछि माओवादी केन्द्र र तत्कालिन एमालेको माधव नेपाल समूह संगको सरकारलाई साथ दिएका कांग्रेस सांसद जीवनबहादुर शाही कात्तिक १६ गते दोस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए । हाल मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्रका १२, एकिकृत समाजवादीका ३, कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसदको समर्थन रहेको छ ।

८ मन्त्रालय रहेको कर्णालीमा हाल मुख्यमन्त्री शाही सहित आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान बिष्ट र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही रहेका छन् । मुख्यमन्त्री भएको झण्डै तिन महिना पुग्नै लाग्दा मुख्यमन्त्री शाहीले ४० बुँदे उपलब्धी समेत सार्वजनिक गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहर रोक्नको लागि प्रदेश सरकार अग्रस्थानमा रहेको भन्दै शाहीले स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्टहरु सञ्चालन तथा स्वास्थ्यकर्मीको परिचालनको प्रवन्ध मिलाइएको बताए ।

साथै उनले प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, जाजरकोट, सल्यानमा एम्बुलेन्स खरिदको लागि २० लाखका दरले ८० लाख रुपैयाँ पठाइएको बताए । यस्तै दैलेख, कालिकोट, सल्यान र रुकुम पश्चिममा शववाहन खरिदको लागि १२ लाखका दरले ४८ लाख पठाइएको बताए । यस्तै अन्य स्वास्थ्य संस्थाहरुमा पनि औषधी तथा अन्य सामाग्रीहरु खरिदको लागि बजेटको व्यवस्था गरिएको उनको भनाई छ ।

३३ प्रतिशतलाई पूर्ण खोप

तथ्याङ्क अनुसार कर्णाली प्रदेशका ३३ दशमलव ६ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका छन् । मुख्यमन्त्री शाहीले सार्वजनिक गरेको उपलब्धीमा कुल जनसंख्याको ४५ दशमलव ४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् ।
यस्तै लक्षित बर्ग तर्फ १२ देखि १७ बर्षका ७६ दशमलव ६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने १८ बर्ष माथिका ५५ दशमलव ७ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै हाल सम्म ५१ दशमलव ३ प्रतिशत लक्षित समूहले पूर्ण मात्रा लगाएका छन् ।