२०८१, ८ बैशाख शनिबार

धावक सुनमायालाई सम्मान तथा स्वागत

सुर्खेत । थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगीतामा महिलातर्फ प्रथम हुनु भएकी जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार स्वागत तथा सम्मान गरेको छ । ११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगीतामा दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम भएकी सुनमायालाई मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश राजधानी सुर्खेतमा स्वागत गरेका हुन् ।

सोमबार प्रदेश राजधानी वीरेन्द्रनगर आइपुग्नु भएकी सुनमायालाई विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सयौं सुनमायाहरु रहेको बताउँदै उनीहरुको पहिचान गर्ने गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको बताए । उनले कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको बताउँदै नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको समेत बताए । प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ ।