२०८०, १८ जेष्ठ बिहीबार

कच्ची सडकमा बर्षेनी सांस्ती

वीरेन्द्रनगर बजारबाट वीरेन्द्रनगर–१६ मा जाँदै गरेको जिप । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । बर्षौ देखि सडकको समस्या झेल्दै आएको कर्णाली प्रदेशका कतिपय क्षेत्रमा अझै पनि सडक पुग्न सकेको छैन । पुगेको क्षेत्रमा पनि राम्रो व्यवस्थापन नहुँदा नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् । वीरेन्द्रनगर बजार क्षेत्रबाट नगपालिका वडा नम्बर १६ झण्डै २३ किलोमिटर टाढा प्रर्दछ । कच्ची सडक, त्यसमा पनि साँघुँरो बाटो, खाल्डा खुल्डीका कारण स्थानीय झण्डै चार घण्टा लगाएर यात्रा गर्न बाध्य छन् ।
२०६५÷०६६ मा वीरेन्द्रनगरबाट लेकवेसी नगरपालिकाको वडा हुँदै मेली गर्पण सडकको ट्रयाक खोलिएको थियो । तर ट्रयाक खोलेको झण्डै एक दर्शक पुग्नै लाग्दा पनि सडकको अवस्था उस्तै छ । सडककै कारण बर्षेनी दुर्घटना हुने गरेका छन् भने बर्षायाममा सडक पूर्ण रुपमा बन्द हुने गरेको स्थानीय बताउँछन् ।

सडकका कारण स्थानीयले बर्षौ देखि सांस्ती खेप्दै आएको वीरेन्द्रनगर वडा नम्बर १६ का स्थानीय पदमबहादुर राना बताउँछन् । ‘सडक यहाँको मुख्य समस्या हो,’ उनले भने, ‘राम्रो सडक नहुँदा हामी समयमा नै गन्तव्य स्थानमा पुग्दैनौँ । दुई घण्टा लाग्ने सडकमा चार घण्टा लाग्छ । त्यहि पनी बर्षायाममा त सडक नै पूर्ण रुपमा बन्दै हुन्छ ।’

प्रदेश राजधानीबासी भए पनि वीरेन्द्रनगर १६, १५ का थुप्रै स्थानमा सडकको राम्रो व्यवस्था छैन । सडक पुगेको क्षेत्रमा पनि कच्ची, खाल्डा, खुल्डी ट्रयाक खोलेर लामो समय सम्म अलपत्र अवस्था छोड्दा सडकबाट स्थानीयले सुविधा भन्दा पनि क्षेति व्यहोरीरहेको वडा नम्बर १६ कै गोपाल रानाले बताए ।

वीरेन्द्रनगर १६ मा विभिन्न क्षेत्रमा सडक निर्माण गरिएको छ तर पिच नहुँदा बर्षायाममा सडक खोलमा परिर्णत हुने गरेका छन् । सडकहरु वडाले पिच गर्न नसकेको प्रदेश र संघ सरकारले व्यवास्था गरेको वडा अध्यक्ष पूर्णबहादुर ढकालले बताए । ‘स्थानीय सरकार आए संगै सडकमा केहि सुधार त भएको छ,’ उनले भने, ‘तर जनताले अपेक्षा गरे अनुसार सुधार हुन सकेको छैन । सडक, निर्माण, पिचको काम वडाले गर्न सक्दैन । त्यसमा स्थानीय सरकार भन्दा पनि प्रदेश र संघ सरकारको ध्यान नजाँदा पिच हुन नसकेको हो ।’

प्रदेश राजधानीको वडा नम्बर १६ मा मात्रै नभएर अन्य विभिन्न वडाहरुको सडकको अवस्था उस्तै छ । सडक निर्माण प्रमुख प्रथामिकतामा परेपनि ट्रायाक खोल्ने नाममा प्रकृतिमाथि चरम दोहन भइरहेको छ ।