मप क्षेत्रीय अस्पतालमा अब इएचएस सुरु हुँदै
सुर्खेत – सुर्खेतको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कात्तिक १ गतेबाट विस्तारित अस्पताल सेवा (इएचएस) संचालन गर्न लागेको छ ।
बिरामीको सुविधालाई ध्यानमा राखेर अस्पतालले पहिलो पटक अतिरिक्त शुल्कसहित यो सेवा सुरु गर्न लागेको हो । हाल दिउँसो ३ बजेसम्म दिदै आएका सेवाहरु अब त्यसबाहेकको समयमा पनि उपलब्ध हुनेछन् । आवश्यकता अनुसार साँझ ७ बजेसम्म पनि सेवा दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले जानकारी दिए ।
अस्पताललाई व्यवस्थित बनाउनका लागि तयार पारिएका योजनाहरु र अहिलेसम्मका कार्यसम्पादनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा ३ बजेपछि उपचारको लागि आउने बिरामीवाट थप शुल्क लिएर बिस्तारित सेवा सुरु गर्न लागिएको खड्काले बताए । अहिले दिउँसो १२ बजेसम्म विरामीको नाम लेखेर ३ बजेसम्म उपचार गरिदै आएकोमा अब जतिबेला पनि नाम लेखेर उपचार गर्न सकिने भएको छ ।
बिस्तारित सेवाका लागि ल्याबमा ५० प्रतिशत, अप्रेसनमा सत प्रतिशत, नाम लेख्दा ५० प्रतिशत थप शुल्क लिएर लिइने मेसु डा खड्काले बताए । यस्तै बिरामी जाँचको पनि थप शुल्क लाग्ने छ । मेसु डा. खड्काका अनुसार जुनियर डाक्टरले बिरामी जाँच गरेको थप १५०, सेकेन्ड कलासको डाक्टरले २०० र फस्ट कलासको डाक्टरले २५० रुपैयाँ शुल्क लिने छन् ।
या विस्तारिक अस्पताल सेवा अन्तर्गत बिरामी जाँच, ल्याव, एक्सरे, अपरेशन लगायतका सबै सेवाहरु संचालन हनेछन । यो सेवाका लागि तीन बजेपछि अस्पतालमा कार्यरत डाक्टरहरुले आलोपालो मार्फत ओपिडी देखि अप्रेसन, ल्याब, एक्सरे लगायतका सेवाहरु दिइने डा. खड्काको भनाई छ । ‘‘इएचएस सेवामा पनि सबै सेवाहरु उपलब्ध हुनेछन,’ उनले भने–‘हामी आलोपालो गरेर सेवा दिन्छौं, हेरौ कस्तो हुन्छौ, यो पहिलो पटक प्रयास गरिएको हो ।’’
यसैबीच मध्यपश्चिम क्षेत्रीय अस्पतालले बलात्कार परेका र हिंसा पीडित महिलाको चेकजाँचमा लिदै आएको सेवा शुल्क अबदेखि नलिने जनाएको छ । यस्तै १२ हप्तासम्मको गर्भपतन, पाठेघर खसेका महिलाको उपचार, परिवार नियोजन,२८ दिनसम्मको बच्चाको उपचार, एचआइभी परिक्षण, मलेरिया, खकार जाँच लगायतका सेवा निशुल्क दिदै आएको छ । तर यस बारहेमा सर्वसाधरणलाई थाहा नहुने भएकोले सबै अस्पतालमा नआउने गरेको अस्पतालको भनाई छ।
पत्रकार सम्मेलनमा अस्पताल बिकास समितिका अध्यक्ष खम्बप्रसाद थानीले मध्यपश्चिम क्षेत्रीय अस्पतालले बिस्तारै क्षेत्रीय अस्पतालको रुप धारण गर्न थालेको बताएका छन् । उनले बिगतको तुलनामा अहिले अस्पतालको अवस्थामा सुधार आउनुको साथै सेवा प्रवाहमा पनि भिन्नता आएको बताए । महिनादिन भित्रै आइसीयू सेवा पनि संचालन गर्ने तयारी गरिएको उनको भनाई छ । क्षेत्रीय अस्पताल स्थापनाको १० वर्षपछि अस्पतालले आइसीयु सेवा संचालन गर्न लागेको हो । आइसीयू सेवा संचालनको लागि नीतिगत निर्णय र बजेट माग गरी स्वास्थ्य मन्त्रालय पठाइसकिएको जनाइएको छ ।
यस्तै अस्पतालको विकासको लागि आफूहरुले सवा ७ करोडको योजनाहरु पेस गरेको मेस डा. खड्काले बताएका छन् । उनका अनुसार अक्सिजन प्लान्ट, आइसियु सेवा संचालन, सिटिस्क्यान लगायतको माग सहित योजना पेस गरिएको छ । आइसीयू सेवा संचालनपछि क्षेत्रीय अस्पतालमा आउने जटिल अवस्थाका विरामीहरु नेपालगंज, लखनउ जस्ता ठाउँमा जानु पर्ने वाध्यतावाट मुक्त हुने खड्काले बताए ।