२०७९, ११ जेष्ठ बुधबार

कोरोनाका कारण दुई बर्ष पछि मुख्यमन्त्री कप हुँदै

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)का कारण दुई बर्ष सम्म रोकिएको मुख्यमन्त्री कप महिला, पुरुष भलिबल प्रतियोगिता यस बर्ष हुने भएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका महिला र पुरुष टोली सहभागिता रहने प्रतियोगिताको तयारी सुरु गरिएको छ । तयारी स्वरुप सुर्खेतमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता तथा मुख्यमन्त्री कप छनौट २०७८ हुने भएको छ ।

सुर्खेत जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको छनोट प्रतियोगितामा सुर्खेतका नौ वटै स्थानीय तहका खेलाडीहरुको सहभागिता रहने छ । कात्तिक १५ गते देखि १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने पालिकालाई उचित पुरस्कार वितरण गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र कुमार गिरीले बताए ।

कोरोना भाइरसका कारण कर्णालीमा आर्थिक बर्ष २०७५÷०७६ यता मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुन सकेको छैन । कर्णाली प्रदेश खेलकुद परिषद्ले यस बर्षको मुख्यमन्त्री कप भलिबल प्रतियोगिता कालिकोटमा गर्ने निर्णय गरेको छ । तर कुन समयमा गर्ने भन्ने कुराको टुङ्गो लाग्न बाँकी रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र संज्यालले जानकारी दिए ।

‘प्रतियोगितको लागि झण्डै एक करोड बजेट लाग्ने भएकाले बजेट व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने, ‘हामी बजेट तथा अन्य व्यवस्थापनका कामहरु गरेर मिति सार्वजनिक गर्ने छौँ । हाल सुर्खेत सहित अन्य जिल्लाहरुमा पनि छनोट भइरहेको छ ।’