२०८१, ८ बैशाख शनिबार

शिक्षकको तलव निकासामा लाप्रवाहि

सुर्खेत । डोल्पाको ठूली भेरी नगरपालिका–६ को श्री देवी आधारभूत विद्यालयले शिक्षकको तलव निकासामा चरम लाप्रवाहि गरेको पाइएको छ । विद्यालयले २०७८ बैशाख ३१ गते सरुवा भएर गएका शिक्षक दैलेखको भैरवी गाउँपालिका–७ का प्रेम प्रसाद आचार्यले आफ्नो बाँकी तलव अहिले सम्म पनि नपाएको गुनासो गरे ।

२०७६ कात्तिकमा शिक्षक सेवा आयोगबाट छनोट भएर डोल्पा पुगेका आचार्य बैशाख महिनाको ४० हजार ६ सय २६ रुपैयाँ तलव पाउन बाँकी रहेको बताए । आचार्य बैशाख ३१ गते सरुवा भएर जेठको पाँच गतेबाट दैलेखको श्री नेरा प्रावि थापावाडा भैरवी ५ दैलेखमा अध्यापन गराइरहेका छन् । विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर बुढा, नगरपालिकाको शिक्षा शाखाले आफ्नो तलव निकासीमा कुनै चासो नेखिएको उनले आरोप लगाए ।

ढिलोमा असार मसान्त सम्म पाउनुपर्ने आफ्नो तलव भदौँ मसान्त सम्म पनि नपाएको भन्दै उनले के कस्तो कारणले ढिला भएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेका छन् । यता विद्यालयका प्राधानाध्यापक बुढाले भने असार मसान्तमा बैंकबाट पैसा ट्रान्सफरको लागि जुफाल गए पनि त्यो समयमा आचार्यको खाता उपलब्ध नहुँदा ढिलो भएका कारण फर्कीएको र अहिले पुनः तलव निकासा गर्ने क्रममा रहेको उनले बताए ।

‘जुफाल पैसा हाल्न जाँदा खाता नम्बर लिन बिर्सेछु,’ उनले भने, ‘त्यो बेलामा अन्य शिक्षकहरुले फोन उठाउनु भयो र मैले उहाँको खाता नम्बर मागेर पठाए, प्रेम सरको फोन नउठ्दा ढिलो भएको हो । हामी उहाँलाई अब (भोली) आईतबार नै पैसा खातामा हालिदिन्छाँै ।’

आचार्यले ४० हजार ६ सय २६ हजार तलव, भक्ता बाँकी रहेको बताए पनि विद्यालय व्यवस्थापन समितिले उनको तलवबाट आउने ५ हजार ४ सय ९९ रुपैयाँ ४० पैसा कर्मचारी सञ्चय कोष (कसम) कोषले कट्ने, ८ सय नागरिक लगानी कोष, एक प्रतिशत कर गरेर ३४ हजार ८३ रुपैयाँ दिन बाँकी रहेको जनाएको छ ।