२०७८, ९ आश्विन शनिबार

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई, स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गरिने

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहलाई स्वास्थ्यका मापदण्डहरुको पालना गर्दै भौतिक रुपमा पठनपाठन कार्य अघि बढाउन भनेको छ । जिल्लाभरका नीजी तथा सामुदायिक विद्यालयहरु आउने साता देखि खुलाउने गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अनुमति दिएको छ । शुक्रबार बसेको बैठकले स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो ।

विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरिनेछ । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ग्रीन जोनमा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिने छ । तर वीरेन्द्रनगर नगरपालिका डेड जोडमा छ भने भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् । रेड जोनमा भए पनि जोखिम उठाएर विद्यालय सञ्चालनको अनुमति दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आगामी सातादेखि सुर्खेतका सबै सामुदायिक र संस्थागत विद्यालयहरु खुलाउन सकिने बताए । उनले स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने बताए । दुई–तीन दिनभित्र मापदण्ड निर्माण गरिने प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उनको भनाइ छ ।

मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याव्सन, एनप्याव्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ ।
विद्यालयहरु खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको छ ।

पंचपुरी, लेकबेसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना संक्रमण न्यून भएकोले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अंकभार भन्दा माथि कोभिड संक्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख भएको बताए । वीरेन्द्रनगरमा अंकभार ६६, भेरीगंगा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ रहेको छ ।