२०७८, ९ आश्विन शनिबार

खोप लगाउन आन्दोलीत हुनुपर्ने अवस्था, कर्णालीका ७ प्रतिशतले मात्रै लगाए डबल डोज

सुर्खेतको वीरेन्द्रनगरमा कोरोनाविरुद्धको खोप लगाउनेको भिँड । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कर्णाली प्रदेशका ७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको डबल डोज लगाएका छन् । तथ्याङ्क अनुसार हाल सम्म ७६ हजार २९ जनाले कोरोना विरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका हुन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले दिएको तथ्याङ्क अनुसार १८ बर्ष माथि उमेर समूहका १० लाख ९४ हजार ४ सय ७९ जना मध्ये हाल सम्म २ लाख ९९ हजार ६ सय ८४ अर्थात २७ प्रतिशतले हाल सम्म पहिलो डोज लगाएका छन् । नेपालले भारत, चीन, अमेरिका लगायतका देशबाट आएको खोप आयात गरेर नेपालीहरुलाई लगाइरहेको छ ।

कुल १८ लाख २४ हजार १ सय ३१ जना कर्णालीबासी मध्ये १८ बर्ष माथिका १० लाख ९४ हजार ४ सय ७९ जना रहेका छन् । कर्णालीमा २०७७ को माघबाट पहिलो पटक कोभिशिल्ड खोपबाट खोप अभियान सुरु गरिएको थियो ।

जस अन्तर्गत हाल हिमाली जिल्लाहरु डोल्पा, मुगु, हुम्ला लगायतका ठाउँहरुमा खोप अभियान चलिरहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका सुचना अधिकारी नोदनारणण चौधरीले जानकारी दिए ।
‘आउने चैत्र सम्म सबै नागरिकलाई खोप लगाउने नेपाल सरकारको लक्ष्य अनुरुप खोप अभियान अघि बढिरहेको छ,’ चौधरीले भने, ‘हाल कर्णालीमा आएको सबै खोप लगाइसकिएको छ । भने बाँकी खोप आउने क्रममा छ ।’

१८ बर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउनुपर्ने भए पनि प¥याप्त खोप नहुँदा प्रथामिकताको आधारमा खोप अभियान चलिरहेको छ । तर अब प¥याप्त खोप आएको अवस्थामा १८ बर्ष भन्दा माथिका सबै नागरिकले खोप लगाउन सक्ने चौधरीले बताए ।

खोप लगाउन आन्दोलीत हुनुपर्ने अवस्था

सरकारले समयमा नै सबै नागरिकलाई खोप नलगाउँदा कर्णालीमा खोप लगाउन आन्दोलन नै गर्नु पर्ने अवस्था छ । विशेष गरी शिक्षक, विद्यार्थीहरु खोप लगाएर मात्रै शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने अडान लिएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा एक महिना देखि विद्यार्थीहरु आन्दोलित छन् । सबै विद्यार्थीहरुले खोप लगाउन पाउनुपर्ने यदि नपाएको अवस्थामा बैकल्पिक माध्यामबाट परीक्षा लिनुपर्ने उनीहरुको माग छ । यस्तै त्रिभूवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत क्याम्पस शिक्षाका प्राध्यापकहरुले खोप लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । विश्वविद्यालयहरुमा मात्रै नभएर अन्य विद्यार्थीहरुले खोप लगाउनुपर्ने जोडदार माग गरीरहेका छन् ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै सबै कर्णालीबासीलाई खोप लगाइने उल्लेख गरेको छ । प्रदेश सरकारले केन्द्र सरकार संग खोपको लागि समन्वय गरीरहेको बताएको छ । प्रदेश सरकारका प्रवत्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले खोप किन्ने अधिकार प्रदेश सरकार संग नभएको अवस्थामा केन्द्र सरकार संग समन्वय गरिरहेको जानकारी दिइन् ।

‘खोपको लागि केन्द्र सरकार संग समन्वयन गरीरहेका छौँ,’ उनले भनिन, ‘केन्द्रबाट खोप पनि उपलब्ध भइरहेको छ । संख्यात्मक हिसाबले कम खोप आएका कारण प्रथामिकताको आधारमा खोप लागाउने काम भइरहेको छ । विदेशबाट आयात हुने खोप एकै पटक सबै नेपालीलाई पुग्ने अवस्था छैन ।’