२०८०, ११ चैत्र आईतवार

कर्णाली प्रदेश स्थापनाको छ बर्ष, मुख्यमन्त्री भन्छन, ‘संघीयता बलियो भए मात्र शहीदको सपना पूरा हुन्छन्’

छ बर्ष पहिले कर्णाली प्रदेश प्राप्तीको लागि सुर्खेतमा भएको आन्दोलन । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । देशमा संघियता लागु भए संगै कर्णाली प्रदेश स्थापना भएको शुक्रबार ६ बर्ष पुरा भएको छ । २०७२ साल भदौँ चार गते साविक मध्यपश्चिम विकास क्षेत्रका भूभागहरु समेटेर कर्णाली प्रदेशको नक्साङ्कन गरिएको थियो । त्यस अघि प्रदेश प्राप्तीको लागि थुप्रै आन्दोलन भएका थिए । केन्द्र सरकारले भेरी, राप्ती र कर्णालीका १० जिल्लाहरु तथा सुदुरपश्चिम क्षेत्रका जिल्लाहरु समेटेर नक्सा तयार पारेपछि कर्णालीका १० वटै जिल्लाहरुमा आन्दोलन चर्कीएको थियो । आन्दोलनको क्रममा टिकाराम गौतम, यामबहादुर बिसी, गोपालसिंह रजवार र हरिबहादुर कुँवर गरी चार जनाको मृत्यु भएको थियो । सोहि दिनको अवसर पारी कर्णाली प्रदेश सरकारले प्रदेशभर शुक्रबार सार्वजनिक बिदा समेत गरेको थियो ।

दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भए मात्र शहीदको सपना पूरा हुने बताएका छन् । शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको स्मरण गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समृद्धिको लागि प्रतिवद्र्ध भएर लागेको बताएका छन् ।

‘सङ्घीय व्यवस्था स्थापनाका लागि दशकौ देखि सशस्त्र एवं निशस्त्र रुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण सङ्घर्षको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि बलिदानीपूर्ण सङ्घर्ष गरे’, उनले भनेका छन्, ‘सङ्घीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवं कर्णाली प्रदेशबासीको छुट्टै प्रदेश स्थापना गरिनुपर्ने माग सहित दुईसाता चलेको जनआन्दोलन र चारजना वीरशहीदको बलिदान पश्चात् कर्णाली प्रदेश स्थापना भएको थियो ।’

मुख्यमन्त्री शाहीले सङ्घीयता विरोधी षडयन्त्रकाविरुद्ध निरन्तर खबरदारी गर्न सबैमा हाद्र्धिक अपिल समेत गरेका छन् । ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ लाई भव्य रुपमा मनाउने तयारी गरेपनि कोरोना भाइरस (कोभिड–१९)का कारण औपचारिक कार्यक्रम नगरेको बताएको छ ।

यता शहिद याम बिसी पतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा कर्णाली प्रदेशका आन्दरिक मामिला तथा कानून मन्त्री सिता कुमारी नेपालीले प्रदेश प्राप्तीका लागि ज्यान गुमाउने शहीदहरुको सपनालाई खेर जान नदिएर त्यसको सम्मान गर्दै सरकार प्रतिबद्ध रहेर काम गर्ने बताइन् । दिवसकै अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शुभकामना व्यक्त गरेका छन् ।

‘परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा ज्यान गुमाएका शहीदहरुको विवरण संकलन गर्ने तयारीमा छौं,’ मन्त्री नेपालीले भनिन्, ‘विवरणले शहीद परिवारका सदस्यहरुको अवस्था बुझेर आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।’ कार्यक्रममा मन्त्री नेपालीले शहीद यामबहादुर विसी स्मृति ग्रन्थ विमोचन पनि गरेकी थिइन् ।

दिवसकै अवसरमा नेपाल प्रगतिशिल लेखक संङ्घ नेपालले समेत स्थापना दिवस मनाएको छ । संङ्घले एक साहित्यीक कार्यक्रम मार्फत प्रदेश प्राप्तीका सहिदहरुलाई सम्झिएका छन् ।