२०८१, १२ बैशाख बुधबार

मन्त्री र सचिव बिच कार्यसम्पादन सम्झौता, असार अघि नै योजना सम्पन्न गर्ने गरी काम गर्न निर्देशन

बिहीबार कार्यसम्पादन सम्झौता गर्दै मन्त्री नेपाली र सचिव । फोटो: हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सिताकुमारी नेपालीले मन्त्रालयका कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेकी छन् । चालु आर्थिक वर्षमा शतप्रतिशत बजेट खर्च गर्ने लक्ष्य अनुरुप बिहीबार मन्त्री नेपालीले मन्त्रालयका सचिव पुण्यविक्रम पौडेल र सचिवले मन्त्रालय माहाशाखा प्रमुख वीरेन्द्रबहादुर केसी बिच सम्झौता भएको छ ।

यस अघि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साउन २९ गते प्रदेशका आठ वटै मन्त्रीहरु संग सम्झौता गरीसकेका छन् । त्यस पछि क्रमश आर्थिम मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्मचारीहरु संग कार्य सम्पादन सम्झौता गरेका छन् । सम्झौता अनुसार मन्त्रालय मातहतका प्रदेश तथा जिल्ला स्थित सबै कार्यालयमा कार्यरत कर्मचारीलाई समयमै योजनाका कामहरु सम्पन्न गर्नु पर्नेछ ।

नेपालको संविधान प्रचलित कानुनलाई कार्यान्यन गर्ने क्रममा ‘समृद्ध कर्णाली सुखारी कर्णालीबासी’को दिर्घकालिन सोचलाई पुरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री नेपालीले बताइन् । कर्णाली प्रदेश सरकारको प्रवक्ता समेत रहेकी नेपालीले कुनै विषम परिस्थिति नआएको अवस्थामा चालु बजेट शतप्रतिशत खर्च हुने बताइन् ।

‘विगतमा कोभिका कारणले थुप्रै समस्याहरु झेल्नुपर्यो जसका कारण हाम्रो कार्यतालिका केहि परिवर्तन भएको छ,’ उनले भनिन, ‘यो बर्ष कोरोनाका बिचमा पनि गर्नुपर्ने कामहरु, गर्नै नसक्ने अवस्था आए कसरी अघि बढ्ने भन्ने बिषयमा हामीले तयारी गरिरहेका छौँ ।’ सम्पूर्ण कर्णालीबासीलाई कोरोनाविरुद्धको खोप लगाउने कुरामा केन्द्र सरकार संग समन्वय गरीरहेको भन्दै नेपालीले प्रथामिकताको आधारमा खोप वितरण भइरहेको बताइन् ।

गत आर्थिक बर्षमा सम्झौता अनुसार बजेट कार्यान्वयन तथा उपलब्धि गर्न नसकिए पनि चालु आर्थिक वर्षमा असार महिना अघि नै सबै योजना सम्पन्न हुनेगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । गत आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले झण्डै ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो तर ६५ प्रतिशत बजेट खर्च भएको थियो । प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ ।