जामु नाकामा १५ बेडको कोरोना अस्पताल सञ्चालन
सुर्खेत । कर्णाली प्रदेश प्रवेश गर्ने पश्चिम सुर्खेतको जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । पञ्चपुरी नगरपालिका १० को जामु नाकामा १५ बेडको कोरोना अस्पताल स्थापना गरिएको हो । कोरोना महामारीको तेस्रो भेरियन्टलाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले कोरोना अस्पताल स्थापना गरेको हो । अस्पतालमा भारत लगायत तेस्रो मुलुकबाट कुइने नाका हुँदै आउने नागरिकहरुको परीक्षण सेवा सुरु गरेको छ । नाकामा कोरोना अस्पताल सञ्चालन गरेर संक्रमण भित्र्रीन नदिने प्रदेश सरकारको लक्ष्य छ ।
अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीङ्स फाउण्डेशनको समन्वयमा प्रदेश सरकारले कैलालीसँग सीमा जोडिएको पञ्चपुरी नगरपालिकाको कुइनेमा कोरोना परीक्षण तथा जामुमा अस्पताल सञ्चालनमा ल्याएको हो । कोरोना परीक्षण र अस्पतालको मंगलबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शुभारम्भ गरेका छन् ।
दक्षिणको छिमेकी भारतसँग कर्णालीको सीमा जोडिएको छैन् । कर्णाली प्रदेश भित्रिनका लागि सल्यानको कपुरकोट र सुर्खेतको बबई तथा कुइने नाका छन् । कर्णालीका तीन वटै नाकामा प्रदेश सरकारले चेकजाँच र अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । ‘कोरोनाको तेस्रो लहरलाई रोक्नका लागि कर्णाली भित्रिने तीन वटै नाकामा चेकजाँच र अस्पताल सञ्चालन गर्ने लक्ष्य सरकारको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘त्यसको सुरुवात कुइने नाकाबाट गरेका हौं ।’
कुइने नाका सुर्खेत सहित दैलेख, कालिकोट, सुदूरपश्चिमको अछाम र बाजुराको मुख्य नाका हो । यो क्षेत्रका अधिकांस नागरिकहरु रोजगारीका लागि कालापहाड (भारत) जाने गर्छन् । ‘तीज, दशैं–तिहारका लागि कामका लागि भारत गएका नागरिकहरु फर्कनेक्रम सुरु भएको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘ति सबै नागरिकहरुको चेकजाँच गरेर कर्णालीमा भित्र्याउने लक्ष्य सरकारको छ ।’
वीङ्स फाउण्डेशनका अध्यक्ष डा. नवराज केसीले अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोगमा कुइने नाकामा स्वास्थ्यकर्मी, परीक्षणका लागि आवश्यक एन्टिजेन कीट, औषधि उपलब्ध गराइएको बताए । ‘यसका साथै तीजदेखि तिहारसम्म भारतबाट कति संख्यामा नागरिकहरु फर्किन्छन् र उनीहरु मध्ये कति जनामा कस्तो प्रकारको कोरोना संक्रमण छ भन्ने पनि अध्ययन गछौं,’ उनले भने, ‘यो अध्ययनले सरकारलाई आगामी दिनमा अघाडी बढ्नका लागि सघाउ पु¥याउँछ ।’
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले नाकामा परीक्षण र अस्पताल सञ्चालनले गाउँमा संक्रमण रोक्न सहज हुने बताए । नाकामै परीक्षण गरेर संक्रमितहरुलाई नाकाकै अस्पतालमा राख्दा गाउँमा संक्रमण फैलिन रोकिने भन्दै थापाले कर्णालीमा संक्रमण रोक्ने हो भने अन्य नाकामा पनि परीक्षण र अस्पताल सञ्चालनमा ल्याउनुपर्ने बताए ।