२०७८, ९ आश्विन शनिबार

कर्णालीमा एमालेका चार सांसद पदमुक्त, प्रदेश सरकार सुरक्षीत

सुर्खेत । एमालेबाट निर्वाचित भएका कर्णाली प्रदेशभाका चार जना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सल्यानका प्रकाश ज्वाला, दैलेखका अम्मरबहादुर थापा, कालिकोटका कुर्मराज शाही र डोल्पाका नन्दसिंह बुढा रहेका छन् । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै यस अघिको अन्तरिममा आदेश खारेज गरेको हो । यो सँगै कर्णाली एमालेका चार सांसद पदमुक्त भएका हुन् ।

यस अघि सर्वोच्च अदालतले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने चार सांसदलाई दसौं महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्ने अन्तरिम आदेश जारी गरेको थियो ।
एमालेको माधव कुमार नेपाल समूहका चार सांसद पदमुक्त भए संगै कर्णाली प्रदेश सरकार सुरक्षीत देखिएको छ । माओवादी–कांग्रेसबीचको सत्ता समीकरण थप बलियो भएको छ । अब महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको गठबन्धन सरकार स्पष्ट बहुमतमा पुगेको छ ।

सर्वोच्चको आदेशपछि ४० सदस्यीय कर्णाली प्रदेश सभा अब ३५ मा झरेको छ । यसअघि माओवादी केन्द्रले आफ्ना सांसद धर्मराज रेग्मीलाई पदमुक्त गरिसकेको छ । अब कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । अहिले कर्णालीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार छ । एमालेबाट पदमुक्त भएका ज्वालबाहेकका ३ जना पनि मन्त्री छन् ।

सर्वोच्चको आदेशलाई सहज रुपमा स्वीकार गर्ने कारवाहीमा परेका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले बताए । सर्वोच्च अदालतले गरेको आदेश लोकतन्त्रको विधि र प्रक्रिया जोगाउन आएको भन्दै शाहीले अदालतको आदेश अपेक्षाकृत भएको बताए ।

‘सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गरेको छ,’ उनले भने, ‘लोकतान्त्रिक विधी र पद्धतीको पक्षमा आएको छ । त्यो हाम्रो पक्ष वा विपक्ष भन्दा पनि दलीय शासनको पक्षमा आएको छ ।’