२०८१, ८ बैशाख शनिबार

घट्दै कोरोना संक्रमणदर, कर्णालीमा सक्रिय संक्रमितको संख्या एक हजारमा झर्यो

सुर्खेत । पछिल्लो समय कर्णाली सहित देशैँभर कोरोना संक्रमणको दर घटिरहेको छ । भारतमा कोरोनाको दोस्रो लहर देखिए संगै नेपालमा पनि तिव्र रुपमा देखिएको कोरोना भारतमा संक्रमणदर कम भए संगै नेपालमा पनि कम हुँदै गएको छ । बैशाख यता दैनिक पाँच सय भन्दा बढि संक्रमित थपिने कर्णालीमा हाल एक सय भन्दा कममा झरेको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा ४१ र एन्टिजेन विधिबाट ५३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ भने तिन सय १९ जना संक्रमित उपचार पछि निको भएका छन् । थप तिन जनाको मृत्यु भएको छ । गत बर्ष कोरोना भाइरसको पहिलो लहर देखिदा ३१ जनाको मृत्यु भएको कर्णालीमा दोस्रो लहरमा थप दुई सय ७१ जनाको मृत्यु भएको छ ।

तथ्याङ्क अनुसार कर्णाली हाल सम्म कुल संक्रमण पुष्टी हुनेको संख्या २७ हजार चार सय ३५ पुगेको छ । हाल सम्म २४ हजार ६ सय ५४ जना संक्रमित उपचार पछि निको भएका छन् । भने एक हजार तिन सय ६८ जना सक्रिय संक्रमित प्रदेशका अस्पताल तथा आइसोलेसन, होम आइसोलेसनमा रहेका छन् ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिदा अत्याधिक मात्रामा बिरामीको चाप रहेको प्रदेश अस्पतालमा पनि बिरामीको चाप कम हुँदै गएको छ ।

अक्सिजनको चरम अभाव देखिएको अस्पतालहरुमा बिरामीको संख्या कम भइरहेको छ । मंगलबार सम्म प्रदेश अस्पतालको आइसोलेसन कक्षमा २० देखि २५ जना को हाराहारीमा संक्रमितहरु रहेका छन् । पछिल्लो समय संक्रमण पुष्टि भएकामध्ये अधिकांश होम आइसोलेसनमा नै बस्ने गरेको प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले बताए । उनका अनुसार अहिले अस्पतालमा उपचाररत बिरामीहरू पुरानै अवस्थाका हुन ।

तथ्याङ्क अनुसार कर्णालीमा संक्रमणको दरभन्दा निको हुनेको दर दोब्बर–तेब्बर हुँदै छ । तर पनि जोखिम भने कायमै रहेकाले सजग रहन स्वास्थ्य सेवा निर्देशनालयले आग्रह गरेको छ । निर्देशनालयका निर्देशक डा. रविन खड्काले निषेधाज्ञा खुकुलो हुँदै जाँदा विस्तारै भीडभाड बढ्ने भएकाले सजग रहन आग्रह गरेका छन् ।