२०८१, ७ बैशाख शुक्रबार

कर्णालीमा शैक्षिक बहस, व्यवहारीक शिक्षामा जोड

सुर्खेत । वर्तमान शैक्षिक प्राणीलाई व्यवहारीक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताइएको छ । शैक्षिक क्षेत्रमा थुप्रै चुनौतीहरु रहेको र कर्णालीको शैक्षिक सुधारको लागि थुप्रै परिवर्तनहरु गर्न बाँकी रहेको सरोकारवालाहरुले जोड दिएका हुन् । यदि यो समयमा पनि शैक्षिक क्षेत्रको अवस्थामा सुधार गर्न नसकेको अवस्थामा दिगो विकासको लक्ष्य पुरा गर्नमा चुनौती देखिने उनीहरुको भनाई छ ।

कर्णाली फाउण्डेसनले युनेस्को संगको समन्वयमा गरेको शिक्षा क्षेत्रको वर्तमान अवस्था र आवश्यकताको बारेमा वृहत छलफलमा सहभागि विभिन्न शिक्षा क्षेत्रमा मानिसहरुले यस्तो बताएका हुन् ।

छलफलमा सिटिईभिटि कर्णाली प्रदेश कार्यालयका प्रमुख प्रेम बास्कोटाले समय सुहाउँदो प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । ‘कर्णालीमा समय सुहाउँदो प्राविधिक शिक्षाको आवश्यकता छ,’ उनले भने, ‘प्रदेश तथा स्थानीय सरकारले पनि यसमा बिशेष जोड दिनु आवश्यक छ । प्रदेश सरकारले निर्माण गर्ने ऐन कानुनमा यी कुराहरुलाई जोड दिनुपर्छ ।’ कर्णालीको शैक्षिक क्षेत्रमा देखिने विभिन्न चुनौतीहरुको कारण दिगो विकासको लक्ष्य पुरा गर्न गाह्रो देखिएको मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले बताए ।

नेपाल सरकारको दिगो विकास लक्ष्य २०१६–२०३० मा समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन पर्यन्त सिकाईका अवसरहरु प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

दिगो विकासको लक्ष्य अनुसार कर्णालीको शिक्षा कस्तो हुनुपर्छ, कसरी शैक्षिक गतिविधिहरुलाई अघि बढाउन सकिन्छ भन्ने बिषयहरुमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएकोे कर्णाली फाउण्डेसनका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेशको सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले शिक्षाको विकासको लागि सरकारी तथा नीजि क्षेत्रहरु, केन्द्र, प्रदेश स्थानीय तहले एक अर्कोमा समन्वय गरेर अघि बढ्नुपर्ने बताइन् । यस्तै प्रदेशसभा सदस्य ठम्मरबहादुर बिष्टले शिक्षाको गुणस्तरीयता बढाउनको लागि समय सुहाउँदो शिक्षा आवश्यकता भएको बताए । ‘हाम्रो समाजमा अझै पनि परम्परागत शिक्षा नै छ,’ उनले भने, ‘यसरी परम्परागत हिसाबबाट अघि बढेको अवस्थामा शैक्षिक गुणस्तर आउन सक्दैन । कर्णाली चाहिदो र सुहाउँदो शिक्षामा जोड दिनुपर्छ ।’

कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा माहाशाखाका प्रमुख बिष्णुप्रसाद अधिकारीले कर्णालीको सिकाई उपलब्धी ४५ प्रतिशत भन्दा कम रहेको बताए । ‘५२ प्रतिशत भन्दा बढि बालबालिका रहेको कर्णालीमा सिकाई उपलब्धी न्यून छ,’ उनले भने, ‘शैक्षिण गुणस्तर बढाउन प्रदेश सरकारले विभिन्न गतिविधिहरु अघि बढाइरहेको छ । थुप्रै ठाउँमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् भने थुप्रै ठाउँका विद्यालयका भवन निर्माण भएका छन् ।’

हाल कर्णालीमा पाँच लाख ४२ हजार भन्दा बढि बालबालिकाहरु विद्यालय जाने गरेको उनको भनाई छ । शैक्षिक सुधारको लागि प्रदेश सरकारले विभिन्न प¥यासहरु गरेपनि संघिय सरकारले बनाउने ऐन कानुन समयमा नै निर्माण नहुँदा एकदमै समस्या भएको उनको भनाई छ ।

दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा शिक्षाको राष्ट्रिय रुपरेखा उद्देश्य र प्रथामिकता क्षेत्र र रणनीतिक दृष्टिकोषको बिषयमा शिक्षा विभागका महानिर्देशक बैकुंठ अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए भने शिक्षाको विश्वव्यापि अवधारणाबारे डा. बालाराम तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै शिक्षाको प्रान्तिय क्षेत्राधारको बिषयमा मध्यपश्चिम विश्वविद्यालय राजनीतिक शास्त्रका प्राध्यपक अर्जुनबहादुर यईडिले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।