२०७८, २१ श्रावण बिहीबार

लगातारको बर्षाका कारण बाढी पहिरोको जोखिम

सुर्खेत । लगातारको बर्षाका कारण कर्णाली प्रदेशमा पनि बाढी पहिरोको जोखिम बढेको छ । स–साना खहरे खोलाहरु अत्याधिक मात्रामा रहेको सुर्खेत बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरको छ ।

जिल्लामा रहेका सिम्ता खोला, भुप्रा खोला, चिङ्गगाड खोला, खहरे खोला, गोछे खोला, इत्राम खोला, खोर्के खोला, निकास खोला, भेरी तथा कर्णाली नदि आसपासका क्षेत्रहरुमा बढि पहिरोको जोखिम बढेको छ ।

सुर्खेतमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जोखिमयुक्त स्थानमा बसोबास गर्ने समुदायले सतर्कता अपनाउन तथा कुनै घटना आइपरेमा वडा कार्यालय, गाउँपालिका वा नगरपालिका र सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

दशैँभर मनसुन सक्रिय भए संगै पछिल्लो केहि दिन यता कर्णाली सहित देशका अधिकांश क्षेत्रमा बर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहोलपुरका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा ४१ मिलिमिटर वर्षा भएको छ भने कर्णालीका अन्य जिल्लाहरु दैलेखमा २५, जाजरकोटमा १७, हुम्ला विमानस्थलमा ३१ मिलिमिटर बर्षा भएको छ ।

कर्णाली नदि आसपासका क्षेत्रहरु, दैलेख, अछाम, कालिकोट लगायतका केहि क्षेत्रमा भारी बर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।