२०७८, २१ श्रावण बिहीबार

पश्चिम नेपालमा निरन्तर बर्षा

सुर्खेत । देशैभर मनसुन सक्रिय भए संगै पश्चिम नेपालमा निरन्तर बर्षा भइरहेको छ । अहिले कर्णाली प्रदेश तथा सुदुरपश्चिमका सबैजसो भू–भागमा हल्का देखि भारी बर्षा भएको छ ।

पछिल्लो एक हप्ता यता मनसुन दशैभर सक्रिय भए संगै आगामि तिन दिन सम्म मौसम अझै सक्रिय रहने जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जानकारी दिएको छ । कोहलपुर कार्यालयका प्रमुख विनोद पराजुलीले कर्णाली प्रदेशका सबैजसो भू–भागमा यो बर्ष औषध भन्दा धेरै बर्षा हुने आँकलन गरिएको बताए ।

तिन दिनको पूर्वानुमान हेर्दा कर्णालीका ठूला नदिहरु कर्णाली, भेरी, तिला लगायतका क्षेत्रहरुमा पानीको सहतमा धेरै प्रभाव नपरेपनि स–साना खोलाहरुमा अत्याधिक मात्रामा बाढिका घटना हुन सक्ने बताए । पश्चिमी अरब सागरबाट आएको वायुको प्रभावका कारण नेपालमा गएको हप्ता पूर्वबाट सक्रिय रहेको मनसुन देशैभर सक्रिय भएको छ ।

पछिल्लो २४ घण्टाको रिर्पोट अनुसार सुर्खेतमा ६६ मिलिमिटर सम्म बर्षा भएको छ । भने जुम्लामा ४०, दैलेखमा ३१ मिलिमिटर बर्षा भएको प्रमुख पराजुलीले जानकारी दिए । आगामि तिन दिन सम्म कर्णालीका जुम्ला, दैलेख, कालिकोट, सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ लगायतका क्षेत्रमा बाढि पहिरोको समेत सम्भावना रहेको कार्यालयले जानकारी दिएको छ ।