२०७८, ३१ जेष्ठ सोमबार

साविक कर्णाली राष्ट्रिय प्रशारणलाईनमा जोडियो, मान्मबासी हर्षित, प्रखाईमा जुम्लाबासी

राष्ट्रिय प्रशारणलाईन पुगेपछि झिलिमिलि कालिकोटको मान्म बजार । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । साविक कर्णाली अञ्चलका कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा मध्ये कालिकोटको सदरमुकाम मान्ममा पहिलो पटक विद्युतको राष्ट्रिय प्रशारण लाईन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभी विद्युतलाईन बिस्तार भए सँगै कालीकोट राष्ट्रिय विद्युत प्रशारणमा पुगेको हो ।

राष्ट्रिय विद्युत प्रशासनण पुगेसँगै कालीकोटमा लोडसेडिङको अन्त्य भएको छ । सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय विद्युत लाइन पुगेको विद्युत प्रशारण लाईन कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले बताए । ‘हिजो (सोमबार) राति १० बजे मात्रै लाइन छोडेका छौँ’ जोशीले भने, ‘तत्काललाई ११ केभीए मात्रै छ, हप्तादिनमै ३३ केभीए पु¥याउने तयारी हुँदैछ ।’ ३३ केभीए विद्युत पु¥याउन दैलेख–दुल्लु खण्डमा काम भइरहेको उनको भनाई छ ।

यस अघि कालीकोटको मान्मा बजार क्षेत्र र आसपासमा पोतमारा लघु जलविद्युत आयोजना मार्फत विद्युत वितरण गरिदै आएको थियो । लघु जलविद्युतको पावर हाउसमा समस्या देखिए पछि एक बर्ष देखि वितरणमा समस्या आएको थियो । भने जेनेरेटरबाट न्यून मात्रामा विद्युत सप्लाई भइरहेको थियो । ‘पहिले आलोपालो गरेर दिनमा ६ घण्टा मात्रै विद्युत छोड्थ्यौँ’ वितरण केन्द्रका प्रमुख जोशीले भने, ‘हिजोदेखि लोडसेडिङको अन्त्य भएको छ, अब २४ घण्टा बत्ति आउँछ ।’

हाल कालिकोटको खाँडचक्र नगरपालिका र सानीत्रिवेणी गाउँपालिकामा ३८ सयभन्दा बढी ग्राहकहरु छन् । कोरोनाको अवस्था सहज भएपछि थप ग्राहक (मिटर बक्स वितरण) बढाइने बताइएको छ । विद्युतको राष्ट्रिय प्रशारण लाईन पुगे संगै मान्मबासी हर्षित भएका छन् । राष्ट्रिय प्रशारण लाईन जोडिए संगै व्पापार व्यवसाय सञ्चालनको लागि सहज हुने मान्म बजारमा व्यापार गर्दै आएका शेरबहादुर भण्डारीले बताए । ‘पोदमारा लघुजलविद्युत आयोजनामा समस्या आउँदा बत्तिको एकदमै समस्या थियो,’ भण्डारीले भने, ‘अब २४ शैँ घण्टा विद्युत आपूर्ती भएको अवस्थामा केहि सहज हुनेछ ।’

विद्युत सेवा सुरु भए संगै स्वस्थ्य क्षेत्रमा सहज हुने कालिकोट खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवाले बताए ।
कालिकोटमा विद्युत पुगे संगै साविक कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पाबासी राष्ट्रिय प्रशारणको प्रतिक्षामा छन् । हाल जुम्लाको लागि दैलेखको महावु गाउँपालिका क्षेत्रमा लाईन जडानको काम भइरहेको छ ।

महाबुबाट ढिला हुने भएकाले मान्मबाट लाईन लिने कुरामा छलफल भइरहेको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । यस्तै डोल्पामा जाजरकोटका विद्युत विस्तारको काम भइरहेको पनि बताइएको छ ।

सम्बन्धित समाचार