२०८१, ८ बैशाख शनिबार

फिरन्ते राउटे माथि यौन शोषण, घटनाको चौतर्फी भत्साना, कडा कारवाहीको माग

सुर्खेत । वन जंगल क्षेत्रमा फिरन्ते जिवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका युवतीमाथि यौन दुव्र्यवहार भएको छ । विशेष गरी सुर्खेत र दैलेखका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका युवतीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौर तिन जना युवाहरुले यौन दुव्र्यवहार गरेको पाइएको छ ।

होटलमा मदिरा सेवन गराएर यौन दुरव्यवहार सहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरीले तिन जनालाई कारवाही गरेको छ । गुर्भाकोट नगरपालिका—९ का २९ बर्षे विनोद पुन (होटल सञ्चालक), ३५ बर्षे दोमनबहादुर घर्ती र २४ बर्षे भूपेन्द्र बुढालाई पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए । भिडियोमा पुरुषहरु अर्धनग्न अवस्था छन् भने युवतीमाथि अस्लिल शब्द प्रयोग गरिएको छ । फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीको भेरी किनारमा बस्दै आएका छन् ।

यस्तै राउटे युवतीमाथि भएको योन दुरव्यवहारको चौतर्फी विरोध भएको छ । विभिन्न क्षेत्र संगठनले दोषीलाई कडा कारवाहीको माग गरेका छन् । लोपउन्मुख राउटे समुदायको स्थायी बसोबास रहेको गुराँस गाउँपालिकाले राउटे युवतीमाथि यौन दुरव्र्यवहार गर्नेलाई कडा कारवाहीको माग गरेको छ । राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराएको गाउँपालिकाले आईतबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानविन गरि कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।

घटनाको राष्ट्रिय मानवअधिकार आयोगले समेत विरोध जनाएको छ । आयोगले युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो । सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्र्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्ने सक्ने देखिएको जनाएको छ । यस्तै आवाज संस्था सुर्खेत, युवा संघ नेपाल जिल्ला कमिटि सुर्खेतले समेत विरोध जनाएको छ । घटनाको घोर विरोध गर्दै दोषीलाई कडा कारवाहीको माग गरिएको छ ।