२०८३, १८ असार बिहीबार

देशभरका ३१ जिल्लामा निषेधाज्ञा

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर तिव्र गतिमा फैलिए पछि सुर्खेत सहित देशभरका ३१ जिल्लामा निषेधाज्ञा जारी गरीएको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा आइतबार बिहानसम्म ३१ वटा जिल्लामा पुगेको छ । आइतवारमात्रै धनुषा जिल्लाले मंगलवारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालयलाई नै कोभिड संक्रमितको सङ्ख्या हेरेरे निषेधाज्ञा जारी गर्ने अधिकार दिइएको छ । ३१ जिल्लामध्ये २३ वटा जिल्लामा पूरै जिल्लामा निषेधाज्ञा गरिएको छ । बाँकी जिल्लाहरुमा भने संक्रमित संख्या हेरेर निश्चित क्षेत्रमा मात्र निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कस्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन, पाल्पा, रुपन्देही, सुनसरी, सल्यान, जाजरकोट, रुकुम पश्चिम, डेल्धुरा, झापा, गुल्मी, प्युठान, उदयपुर र बझाङमा जिल्लाभर नै निषेधाज्ञा गरिएको छ ।
त्यस्तै, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला, बर्दिया र बाग्लुङका केही स्थानहरुमा मात्र निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।