२०८१, १८ बैशाख मंगलवार

कर्णालीका ३ स्थानीय तहले विद्यालय बन्द गर्ने सरकारको निर्णय कार्यान्यन नगर्ने

सुर्खेत । वातावरणीय प्रभावका कारण देशभरका विद्यालय चार दिनसम्म बन्द गर्ने सरकारले निर्णय कर्णाली प्रदेशका तीन वटा स्थानीय तहले कार्यान्यन नगर्ने भएका छन् । सल्यानको दार्मा गाउँपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले निरन्तर विद्यालय सञ्चालन गरेका छन् ।

दार्मा गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्र वातावरणीय असहजता नभएको भन्दै विद्यालय निरन्तर गर्ने बताएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सुचनामा भनिएको छ, ‘गाउँपालिकामा वातावरणीय असर सिर्जना भएको छैन, आगामी जेठ महिनामा सञ्चालन हुने वार्षीक परीक्षालाई मध्यनगर गर्दै अर्को सूचना जारी नहुँदासम्म विद्यालय नियमित सञ्चालन हुनेछन’ ।

कोरोना महामारीले लामो समयपछि विद्यार्थीहरूको पठनपाठन सञ्चालन भएकाले र वातावरणीय असर नदेखिएको भन्दै सोमबार बसेको कार्यपालिका बैठकले विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।

यता रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि आफ्नो पालिका भित्र वातावरणीय असहजता नभएको भन्दै नियमित विद्यालय सञ्चाल गर्ने बताएको छ । मंगलबार पत्र लेखेर शाखाले नगरभित्र यस्तो कुनै पनि खालको वातावरणीय असहजता नभएकाले विद्यालय नियमित सञ्चालन गर्न भनेको हो । ‘कोभिड–१९ महामारीका कारण लामो समय विद्यालय बन्द रहेको र राष्ट्रपति रनिङ सिल्ड तथा चौथो नगरप्रमुख कप खेलकुद प्रतियोगिता सञ्चालन अवधिमा समेत विद्यालय बन्द रहेका कारण यस नगरपालिकाका सम्पूर्ण शिक्षण संस्थाहरूमा नियमित पठनपाठन गराउन निर्देशानुसार सूचित गरिएको छ,’ शिक्षा शाखाले जारी गरेको सुचनामा भनिएको छ ।

यस्तै चौकुने गाउँपालिकाले पनि विद्यालयलाई निरन्तर सञ्चालन गर्ने बताएको छ । गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै वातावरणीय असहजता नभएको भन्दै विद्यालय निरन्तर सञ्चालन गर्ने बताएको हो ।