२०८१, २१ बैशाख शुक्रबार

सरकारको समर्थन फिर्ता लिने निर्णयमा एमालेका दुई पक्ष विभाजित, समर्थन फिर्ता लिए संसदबाट विश्वासको मत लिन्छु – मुख्यमन्त्री

सुर्खेत । बुधबार नेकपा एमालेको प्रधानमन्त्री ओली समूहका सांसदहरु सम्मेलित प्रदेशसभा दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने, सरकारमा गएका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय ग¥यो । बैठकमा एमाले संसदिय दलका नेता एवम् प्रदेशसभा सदस्य यामलाल कंडेल सहितका १० जना सांसद उपस्थित थिए । कर्णाली संसदमा एमालेबाट सभामुख राजबहादुर शाही सहित २० जना सांसद छन् । जस मध्ये ९ जना सांसद अनुपस्थित थिए । बैठक लगत्तै पत्रकार सम्मेलन गर्दै नेता यामलाल कंडेलले सरकारको समर्थन फिर्ता लिएको घोषणा गरे ।

तर त्यसको केहि सयम पनि एमालेको माधवकुमार नेपाल पक्षका नेता प्रकाश ज्वालाले सरकारको समर्थन फिर्ता लिने निर्णयमा आफुहरुको असहमति रहेको बताए । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया दिँदै नेता ज्वालाले गुटगत बैठक प्रति ध्यानकर्षण भएको बताएको छ ।

‘यस्तो गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौ,’ ज्वालाले भनेका छन्, ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ । यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउदछौ । कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउदछौ ।’ कर्णाली प्रदेश सरकारका एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । संसदमा रहेका १९ जना सांसद मध्ये १० जनाको उपस्थिति रहनु आफुहरुको निर्णय आधिकारी भएको कंडेलको भनाई छ ।

‘पार्टी फरक भइसकेको अवस्थामा पछि उहाँहरु (ज्वाला समूहले) नेकपाकै रोल खेलिरहनु भएको छ,’ नेता कंडेलले भने, ‘दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेपछि उहाँहरुले नैतिकताको आधारमा मन्त्री पद छोड्नुपर्ने हो । केन्द्रमा एमालेको एक पक्षले देखाएको जात्रा जस्तै यहाँ पनि जात्रा देखाइएको छ ।’

कर्णालीको संसदमा ४० जना सांसद छन् । जसमा एमालेका २० सांसदमध्ये १० जना ओलीतिर र ९ जना माधव नेपाल पक्षमा छन् । सभामूख ओलीतिरका भए पनि उनको मत गणना हुँदैन । तसर्थ अहिलेको अवस्थामा एमालेमा १०ः९ को अनुपात छ । माओवादी संग १३ जना सांसद छन् । भने नेपाली कांग्रेस संग ६ र राप्रपा संग एक जना सांसद रहेका छन् ।

संसदबाट विश्वासको मत लिन्छु – मुख्यमन्त्री शाही
यता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालले विश्वासको मत फिर्ता लिएको अवस्थामा संसदबाट विश्वासको मत लिने बताएका छन् । एमालेको ओली समूहको सो निर्णय पछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले भने, ‘लोकतन्त्रमा समर्थन दिने, लिने कुरा सामान्य हो, उहाँहरूले समर्थन फिर्ता भएमा म सदनबाट विश्वासको मत लिन्छु, त्यसका लागी सरकार तयार छ ।’