२०८१, ६ जेष्ठ आईतवार

स्वास्थ्यकर्मीको अभाव झेल्दै कर्णाली, ६७ प्रतिशत स्थाई दरबन्दी रिक्त

सुर्खेत । प्रदेश मातहतमा रहेका कर्णालीका १० वटै जिल्लाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको चरम अभाव देखिएको छ । तथ्याङ्क अनुसार स्वास्थ्य संस्थाहरुमा स्थाई दरबन्दीको ६७ प्रतिशत भन्दा बढि दरबन्दी रिक्त देखिएको छ । भने ३३ प्रतिशत मात्रै स्थाई दरबन्दी पुरा भएको छ ।

जसमा प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा २२ दशमलव ५ प्रतिशत मात्रै स्थाई कर्मचारीको दरबन्दी पुरा भएको छ भने ७७ प्रतिशत भन्दा बढि रिक्त रहेको छ । स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतमा ६४ दशमलव ९ प्रतिशत, मेहलकुना अस्पताल गुर्भाकोट, सुर्खेतमा ४७ दशमलव २ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा ५४ दशमलव २ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय सल्यानमा २७ दशमलव ७ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय डोल्पामा १९ दशमलव १ प्रतिशत मात्रै स्थाई कर्मचारी रहेका छन् ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लामा ८१ दशमलव ३ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय मुगुमा ३९ दशमलव ६ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय हुम्लामा १८ दशमलव ८ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय कालिकोटमा २७ दशमलव ७ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय दैलेखमा ४३ दशमलव १ प्रतिशत र जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतमा ८६ दशमलव ७ प्रतिशत र प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा ८७ दशमलव ५ प्रतिशत मात्रै स्थाई दरबन्दी रहेका छन् भने अन्य दरबन्दी रिक्त रहेका छन् ।
रिक्त रहेका मध्ये केहि ठाउँमा करारमा स्वास्थ्यकर्मी नियुक्ती गरिएपनि धेरैजसो ठाउँमा दरबन्दी नै खाली रहेको पाइएको छ ।

विशेष गरी विशेषज्ञ चिकित्सकको अभाव कर्णालीमा देखिन्छ । प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा १ सय ६१ जना विशेषज्ञ डाक्टरको दरबन्दी तोकिए पनि हाल सम्म २८ जना मात्र कार्यरत रहेका छने भने १ सय ३३ जनाको दरबन्दी अझै पनि रिक्त रहेको छ ।

यस्तै नर्स २ सय ३६ जनाको दरबन्दी भए पनि हाल सम्म १ सय ५७ जनाको दरबन्दी खाली रहेको छ । प्यारामेडिक्स तर्फ ४५ जना कार्यरत रहेका छन् भने २८ जनाको दरबन्दी अझै रिक्त रहेको छ । ल्यापमा १४ जना कार्यरत छन भने ३५ जनाको दरबन्दी रिक्त रहेको छ । यस्तै अन्य १ सय ३० जना स्थाई दरबन्दीका कर्मचारी कार्यरत रहेका छन् भने २ सय ३७ जनाको दरबन्दी रिक्त रहेको छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले स्थाई दरबन्दीको झण्डै दुई तिहाई रिक्त रहेको बताए । धेरैजसो स्थाई दरबन्दी रिक्त रहेको ठाउँमा करारमा कर्मचारी नियुक्ती गरेर कार्यसुचारु गर्ने काम भइरहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा माहाशाखाका प्रमुख बृष शाहीले बताए ।

‘स्थाई दरबन्दीमा माग अनुसार स्वास्थ्यकर्मीहरु आउनु नै भएको छैन,’ उनले भने, ‘धेरैजसो कर्मचारीहरु केन्द्र सरकार मातहतमा रहेर काम गर्न चाहानु हुन्छ । प्रदेश सरकारले प्रदेशमा आउन भने पनि उहाँहरु आउनु भएन ।’

सम्बन्धित समाचार