२०८१, २० बैशाख बिहीबार

बैशाखमा लगानी सम्मेलन गर्ने तयारी

सुर्खेत । कर्णाली प्रदेशस्तरीय लगानी सम्मेलन आउँदो बैशाखमा गर्ने तयारी थालिएको छ । कर्णालीमा लगानी मैत्री वातावरण सिर्जना गर्न, विकास साझेदार संस्थाहरूको आकर्षण बढाउने जस्ता उद्देश्य सहित लगानी सम्मेलनको तयारी थालिएको हो । कर्णाली प्रदेश योजना आयोगको ७८ औँ बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

विसं २०७८ को वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खड्काले जानकारी दिए । परियोजना बैंकको काम सकिए पछि लगानी सम्मेलन आयोजना हुने भएकाले कर्णालीमा सम्मेलन आयोजना गर्न योजना आयोगले तयारी शुरु गरेको खड्काले बताए ।

नेपाल सरकारले विसं २०७६ मा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा कर्णालीबाट ६७ वटालाई आयोजना समावेश गरिएको थियो । बैठकले कर्णाली प्रदेश विकास परिषद्को बैठकको संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाया तथा कर्णाली प्रदेशस्तरीय लगानी सम्मेलनका लागि संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिइएको उपाध्यक्ष खड्काले जानकारी दिए ।

बैठकले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको विस्तृतीकरणको संलग्न दस्तावेज आयोगबाट कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्मा स्वीकृतिका लागि सिफारिस गर्ने, आयोगको कार्य सम्पादनलाई थप प्रभावकारी एवं नतीजामुखी बनाउन तर्जुमा भएको वार्षिक कार्ययोजना स्वीकृत गरी कार्यान्वयन मालिने निर्णय गरेको छ ।