कोरोना कहरमा डेंगुको जोखिम, भदौँ यता वीरेन्द्रनगरका ३३ जना संक्रमित
सुर्खेत । कोरोना भाइरस (कोभिड १९) संक्रमणको माहामारीका बिच वीरेन्द्रनगरमा लामखुट्ट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण देखिएको छ । वीरेन्द्रनगरको बजार क्षेत्रका विभिन्न ठाउँमा डेंगुका बिरामीहरु भेटिन थालेका हुन ।
विशेष गरी बजार क्षेत्रका पानी जम्ने ठाउँ, धेरै फोहोर क्षेत्रहरुमा डेंगुको जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका प्रमुख चेतननीधि वाग्लेले चालु आर्थिक बर्षको भदौँ यता सुर्खेतका ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको बताए । संक्रमितहरु सबै वीरेन्द्रनगर बस्ने मानिस रहेको उनको भनाई छ ।
गत आर्थिक बर्षको तुलनामा संख्यात्मक हिसाबले केहि कम मानिसमा डेंगु रोग देखिए पनि उच्च जोखिम रहेको उनको भनाई छ । गत आर्थिक बर्षमा सुर्खेतका एक सय जनामा डेंगुको संक्रमण देखिएको उनको भनाई छ । चिसोको समय सुरु हुञ्जेल सम्म संक्रमण देखिने भन्दै उनले सचेत रहन तथा आफ्नो क्षेत्र वरीपरि सरसफाई गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरस (कोभिड १९)को माहामारीका बिच डेंगुको संक्रमण पनि देखिएको भन्दै उनले सचेत हुन सबैलाई आग्रह गरेका छन् । डेंगु नियन्त्रणका लागि गत बर्ष जस्तै चालु आर्थिक बर्षमा पनि स्थानीय तह संगको सहकार्यमा लार्भा नष्ट गर्ने काम गर्ने बताए ।
लार्भा नष्ट गर्नु नै नियन्त्रणको पहिलो उपाए भन्दै उनले दुई, तिन दिनमै सो काम गर्ने बताए । डेंगु रोग पनि एउटा भाइरस भएकाले यो रोग लाग्दा पनि एक्कासी उच्च ज्वरो आउने, आँखाको गेडी, जोर्नीहरु दुख्ने, पसिना हुने खान मन नलाग्ने जस्ता लक्षण देखिने जनस्वास्थ्य कार्यालयको भनाई छ ।
यता वीरेन्द्रनगर नगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय, कर्णाली प्र्रदेश स्वास्थ्य निर्देशनालय संगको सहकार्यमा लार्भा नष्ट गर्ने काम सुरु गर्न लागेको बताएको छ । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रशुराम खड्काले लर्भा नष्ट संगै जनचेतना फैलाउने, सरसफाई गर्ने जस्ता सचेतना मुलक कार्यक्रमहरु गर्ने बताए ।
बजार क्षेत्रमा दैनिक जसो मानिसहरुमा डेंगुको संक्रमण देखिएकाले जोखिम बढ्दै गएको वीरेन्द्रनगर ६ गोदाम लाईनमा फेन्सी व्यवसाय गर्दै आएका महेश रोकायले बताए । गोदाम लाईन क्षेत्रमा एकै घरमा चार जना सम्ममा संक्रमण देखिएकाले तत्ककाल रोकथामका कामहरु गर्नुपर्ने उनको भनाई छ । डेंगुको संक्रमण झनै फैलिने सक्ने भन्दै व्यवसायीहरुले नियन्त्रणमा सम्बन्धीत निकायको तत्काल ध्यान जानुपर्ने बताएका छन् ।