कमिशन धन्दाका कारण नगर शिक्षा शाखाद्वारा फसाईयो नानपाका विद्यालय, वील तिर्नु कि हिसाब मिलाउनु
सुर्खेत, १० साउन ।
नारायण नगरपालिका दैलेखको शिक्षा शाखाले नगरका १७ वटा विद्यालयलाई सुरुमा सेनिटरी प्याड खरिद गर्न भनेर असार १७ वटा विद्यालयको खातामा पैसा जम्मा गर्न लगायो । पैसा खातामा भएपछि विद्यालयले आवश्यकता अनुसार आफैंले खरिद गर्नुपर्ने होला भन्दै ढुक्क भइ बसे । खरिद बारे जानकारी पनि लिए तर शिक्षा शाखा आफैंले सेनिटरी प्याड खरिद गर्दै विद्यालयलाई विल थमायो, त्यसपछि नगरपालिकाका विद्यालय हेरेका हे¥यै भए ।
बजेट फ्रिज जाने भन्दै असारमसान्तमा नगरपालिकाले विद्यालयमा किशोरीहरुका लागि आवश्यक सेनेटेरी प्याड खरिदका लागि नारायण नगरपालिकाको १७ विद्यालयमा २१ लाख ७९ हजार रुपैँया जम्मा गरेको थियो । साउन लागेसंगै नारायण नगरपालिका शिक्षा शाखाले कमिशन पाउने लोभमा प्रतिस्पर्धाविनै सुर्खेतको एक सप्लायर्सबाट खरिद गरेको हो । सामानसंगै सप्लायर्सले विद्यालयपिच्छे सेनेटरी प्याट र विलहरु पठाएपछि दैलेखका विद्यालयहरुले असहमती जनाएका हुन् ।
नारायण नगरपालिकाभर रहेका ६ देखी १२ कक्षासम्म पढ्ने छात्राहरुका सेनेटरी प्याड खरिदको कार्यक्रम गत आर्थिक वर्षमा नगरपालिकामा आएको थियो । ‘सेनेटरी प्याड खरिदका लागि पैसा विद्यालयको खातामा रहेपनि नगरपालिकाले सेनेटरी प्याड किनेर विद्यालयमा एक्कासी ल्याएर भुक्तानी अहिले सप्लायर्सले मागिरहेको छ ।’ सदरमुकामको त्रिभुवन माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक निरक तारामीले भने, ‘विद्यालयले कोटेशन तथा सुचना निकालेर खरिद गर्ने कार्ययोजना रहेको थियो । नगरपालिकाले सामान ल्याएको छ । अव, के गर्ने गाह्रो भयो ।’
सामान विद्यालयमै पठाएर भुक्तानीका लागि विक्रेता आउने गरेको अर्का एक विद्यालयका एक प्रधानाध्याकले गुनासो गरे ।
विद्यालय आफैले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ । कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको हो ।
सामान खरिदको लागि विद्यालयको खातामा पैसा पठाईएकोले विद्यालयले नै सेनेटरी प्याड खरिद गर्नुपर्ने नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले बताए । ‘खरिदबारे आफुहरुलाई थाहा छैन तर, नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउन भने मिल्दैन ।’ प्रमुख प्रशासकिय अधिकृत नेपालीले भने ।
सवै प्रअहरुलाई नगरपालिकामा बोलाएर शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले नगरपालिकाबाटै खरिद गरेर विद्यालयमा उपलब्ध गराउने बताएको एक प्रधानाध्यापकले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
मोटो कमिशनको लोभमा सवै विद्यालयको सामान नगरपालिका मार्फत किनिएको भन्दै अहिले विद्यालयहरुले विरोध गरेका छन् । २१लाख ७९ हजार रुपैँयामा १७ विद्यालयका लागि कम्पनीसंग आफुहरुले कुरा गरेर मगाईदिएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहीले बताए । उनले भने, ‘सजिलो होस् भनेर सामान मगाएपनि विद्यालयले किन्ने या नकिन्ने निर्णय स्वयम लिन सक्छ ।’ पैसा फ्रिज हुन लागेकाले आफुहरुले कोटेशन नलिई एउटा कम्पनीबाट मगाएको शाहीले बताए । निम्न माध्यमिक विद्यालयहरुमा ४० हजारदेखी माध्यमिक विद्यालयमा १ लाख ५० हजारसम्म बजेट सेनेटरी प्याड किन्नको लागि नगरपालिकाले पैसा पठाएको थियो ।