सिलाईकटाई सिकेका दलित महिला भन्छन् : हामीहरूका लागि साँच्चै सरकार आएको रहेछ
सावित्री सुनार वीरेन्द्रनगर वडा नम्बर ६ मा बस्छिन् । उनका श्रीमानले निजी कम्पनीमा काम गर्दै आइरहेका छन् ।
उनको घरमा श्रीमानले कमाएर ल्याएको पैसाबाहेक अन्य आम्दानी शून्य छ । उनीसँग अन्य कुनै सीप छैन । गृहिणी भएर आजसम्म बसेकी थिइन् । तर अहिले भने उनमा हिम्मत आएको छ ।
‘फागुन एक गतेदेखि म सिलाईकटाई तालिम गर्न आएकी हुँ । लकडाउनका कारण चैत ११ देखि सिलाईकटाई बन्द भएपनि अहिले फेरि सिकिरहेको छु,’ सावित्रीले भनिन्, ‘भोटा, कुर्ता सुरुवाल सिलाउन सिकिसकेको छु । सर्ट र पाइन्ट सिलाउन सिकिरहेको छु ।’
काम पूर्ण रुपमा सिकेपछि तीन चार जना महिला मिलेर सिलाईकटाई पसल खोल्ने सोच भएको उनको भनाइ छ ।
लक्ष्मी बस्यालले तालिम सिके पनि कम्तिमा रोजगारीको ग्यारेण्टी सरकारले गर्नुपर्ने बताइन् । ‘सरकारले लाखौं लगानी गरेर हामीलाई सीप सिकाएको छ,’ उनले भनिन्, ‘अब हामीले सिकेको सीपबाट उत्पादन हुने वस्तुको बजारीकरण वा रोजगारीको व्यवस्थापन सरकारले गरिदेओस् ।’
तीन महिने तालिममा ३० जना दलित महिलाहरू सहभागि छन् ।
प्रशिक्षक अम्बर नेपालीले तीसै जना महिलालाई अम्ब्रेला कम्पनीको एक /एक वटा मेसिन, आइरन जस्ता चीजहरू दिने बताए ।
‘१५ हजार ९०० भ्याट बाहेकको एक मेसिन, तीन हजार रुपैयाँको प्रेस, १५ सय रुपैयाँको कैंचीलगायतका आवश्यक सामाग्री हस्तान्तरण गर्दैछौं,’ उनले भने,‘लकडाउनका कारण केही ढिला भएपनि अहिले २ सिफ्टमा राखेर सिकाइरहेका छौं । दआठ प्रकारका वस्तु निर्माणका लागि सिप सिकाइएको हो । आगामी एक सातमा सबै कार्यक्रम समापन हुनेछ ।’
उनले यहाँ सिकेका महिलाहरूलाई जुनसुकै समयमा पनि थप तालिम दिन आफुहरू तयार रहेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले तीसै जना महिलालाई थप डिजाइनको तालिम दिन नगरपालिका तयार भएको बताइन् । ‘उहाँहरूलाई के आवश्यक पर्छ हामी सहयोग गर्न तयार छौं,’ उनी भन्छिन्, ‘एक महिने डिजाइनको तालिम दिन हामी तयार छौं । म आफैं पसल खोल्छु, आत्मनिर्भर बन्छु भन्ने धारणा बनाउनुस् सरकार तपाईसँगै छ ।’
जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले दलित, विपन्न लक्षित कार्यक्रमले वास्तविक रुपमा तल्लो तहमा सकारात्मक काम गरेको बताए । ‘मैले धेरै स्थानमा अनुगमन गरेको छु । त्यहाँ वास्तविक रुपमा लक्षित वर्गको हातमा कार्यक्रम पुगेको छ,’ उनी भन्छन्, ‘यस्ता प्रकृतिका कार्यक्रमहरू धेरै भन्दा धेरै लागू गर्न जरुरी छ ।’
प्रदेश सभा सदस्य राजु नेपालीले दलित समूदायका महिलाले पनि काम गरेर आत्मनिर्भर बन्न सक्छन् भन्ने देखाउन कार्यकाय यहाँ छानिएको हो । उनले भने, ‘दलित महिलाले पनि काम गर्न र आत्मनिर्भर बनेर समाजमा अघि बढ्न सक्छन् भन्ने ध्येयका साथ यो कार्यक्रम यहाँ छानिएको हो ।’
४० लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रमले तालिम सिकेका महिलाहरूमा उत्साह छाएको छ ।
कृषि विकास निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले ४० लाखमध्ये ८ लाख रुपैयाँ बराबरको च्याउ खेती तथा ३२ लाख रुपैयाँ बराबरको यो कार्यक्रम रहेको बताए ।

