सरकारले सांसद हेरेर व्यवहार गर्ने गरेको कर्णालीका समानुपातिक सांसदको गुनासो
सुर्खेत । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदले सरकारले सांसद हेरेर व्यवहार गर्ने गरेको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचित सांसदहरुलाई मात्रै प्राथमिकता दिने र समान हैसियत भएका सांसदहरु जसले मन्त्रीसँग भाषा मिलाए उसलाई सत्तापक्षको नजर र भाषा नमिलाउनेलाई प्रतिपक्षको नजरले व्यवहार गर्ने देखिएका् गुनासो गरेका छन् ।
‘‘विगतमा गाउँ विकास समिति हुँदा महिला लक्षित, पीछडिएका नाग िरकलाई उनीहरुक ो क्षमता अभिवृद्धिका लागि बजेट दिइन्थ्यो । त्यो बजेट थोरै हुन्थ्यो । त्यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकेको थियो । ल्याइरहेको थियो ।’’ कर्णालीका समानुपातिक सांसदको गुनासो प्रदेश सभा सदस्य बदमी क्वारी बोहोरा भन्छिन्, ‘‘तर अहिले अर्बौ बजेट ल्याइन्छ, महिलाको क्षमता विस्तारका कुरा, दलित, जनजाति पिछडिएका वर्गको उत्थानका कुरा हराउँदै गएका छन् ।’’ उनले कर्णालीमा छाउपडी, बहुपति प्रथाजस्ता कुप्रथा कायमै रहेको भएपनि प्रदेश सरकारले सांसदहरुको सहयोग लिई अघि बढ्नुपर्नेमा त्यसरी नबढेको बताइन् । ‘‘महिलाका समस्या के छन्, हामीलाई थाहा छ ।
बालबालिकाका समस्या कस्ता छन्, जानकारी छ । समाजमा रहेका रुढीवादी परम्पराले महिलामा कस्तो असर पारेको छ र त्यसको समाधानका लागि के गर्न सकिन्छ भन्ने कुरा हामीलाई थाहा छ तर सरकार हाम्रो कुरा सुन्न चाहँदैन । यस्ता क्षेत्रमा लगानी गर्दा समाज कमजोर भएको आँकलन गर्ने गर्छ । विकास भनेको सडक खन्नु मात्रै होइन भनेका छौं । सायद समानुपातिक संसद भएका कारण होला सरकारले हाम्रो कुरा सुनेन । सुन्न चाहेन ।’’ उनी भन्छिन्, ‘‘सरकारले संसद भनेको प्रत्यक्ष निर्वाचित मात्रै भन्ठानेको महसुस भइरहेको छ । हाम्रो सबैको प्रदेश सभामा हैसियत उही हो । सेवा सुविधा एकै पाएका छौं । व्यवहार फरक हुँदा हाम्रो चित्त दुखेको छ ।’’ अर्का सांसद यज्ञबहादुर बिसीले सरकारले समानुपातिक सांसदलाई जहिल्यै विभेद गर्ने गरेको बताए । ‘‘पूर्वाधार विकास कार्यक्रममा पनि हामीलाई हेला गरियो । हामीले छानेका योजनामा सरकारले कहिल्यै बजेट हाल्दैन । बजेट दिएको खण्डमा पनि हामीलाई दश प्रतिशत पनि दिइदैन ।’’ उनले भने, ‘‘कर्णाली सरकारको स्वेच्छाचारिता बढ्दै गएको छ ।
संसद भनेपछि प्रत्यक्ष निर्वाचित व्यक्ति मात्र हुन् भन्ने भ्रम पालेर बसेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई क र ख श्रेणीमा सरकारले नै विभाजन गरेको छ जस्तो मलाई लाग्छ ।’’ उनले भने, ‘‘मन्त्रीसँग भाषा मिलाउन सकेको खण्डमा मात्रै थोरै बजेट निर्वाचन क्षेत्रमा दिइने गरिन्छ । भाषा नमिलाएको खण्डमा सत्तापक्षीय सांसद भएपनि प्रतिपक्षको जस्तो व्यवहार सरकारले गर्ने गरेको छ ।’’ सांसद पद्मा खड्काले सरकारले समानुपाति सांसदका कुरा सुन्नु पर्ने बताइन् । ‘‘हामीलाई पनि जनताले मत दिएर पठाएका हुन् । हामीलाई पनि जनताले विकास निर्माणका योजना माग गर्ने गरेका छन् । हामी पनि प्रदेश सभामा सदस्य छौँ । अनि हामीलाई समानुपातिक भनेर हेला गर्ने ?’’ उनले भनिन्, ‘‘यसरी सरकारले नै हेला गर्ने, विभेद गर्ने हो भने यो मिश्रित निर्वाचन प्रणाली हटाए हुन्छ ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाएको खण्डमा कोही कसैले विभेद गर्न पाउँदैनन् ।’’ सांसद खड्काले समानुपातिक सांसद दयामायाले दिएको जस्तो व्यवहार राज्यबाट प्रदर्शित हुनु दुःखद् भएको बताइन् । ‘‘सरकारले त सबैलाई समान व्यवहार गर्न जरुरी छ । सबैको समर्थनमा सरकार बनेको हो । हामी पनि सत्ता पक्षकै हौं । हामी पनि प्रत्यक्ष टिकट दिएको खण्डमा चुनाव लड्न सक्छौँ ।’’ उनले भनिन्, ‘‘समानुपातिक सांसद बनाउँदैमा महिलाका समस्या समाधान हुँदैनन् । त्यसका लागि हामीले भनेका कार्यक्रम पनि समेट्नु पर्छ ।’’ महिला, दलित समुदायको चेतना स्तर अभिबृद्धि गर्न सोही समुदायको व्यक्तिलाई खटाएको खण्डमा मात्रै परिवर्तन हुन सक्ने उनको भनाइ थियो ।









