२०८१, ३० आश्विन बुधबार

‘भेटघाट र फोन अस्विकार गर्दिनँ’

कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी दैलेख निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित हुन् । हाम्रो नयाँ नेपाल दैनिकको हरेक आइतवार प्रकाशित हुने स्तम्भ ‘दैनिकी’ मा उनले आफ्नो दैनिकी यसरी बताएः

कम सुत्छु
साँझ ढिला सुत्ने भएकोले म बिहान अलि ढिला उठ्छु । यो मेरो विद्यार्थी हुँदादेखिको बानी हो । त्यतिबेला म राति करिब २ बजेसम्म पढेर सुत्ने र विहान करिब ८ बजेसम्म उठ्ने गर्थें । म कलेज नगएर घरमै सेल्फ स्टडी गर्नेमध्ये पर्छु । अहिले निर्वाचित भइसकेपछि पनि छिटो सुत्दा १२ बजे सुत्छु र बिहान छ बजे आसपासमा उठ्छु । राति किताब पढ्ने, बाहिर तिरको समाचारहरू पढ्ने गर्छु । म अत्यन्त कम सुत्छु । दिउँसो सुत्दिन । करिब ५ घण्टा सुत्दा मलाई निन्द्रा पुगिहाल्छ ।

योगा, व्यायाम, मर्निङ वाक गर्दिन
म योगा, व्यायाम, मर्निङ वाक केही गर्दिन । उठेपछि अनलाइनमा समाचाहरू हेर्छु ।

प्रदेशसभामा हिँडेरै आउनेजाने गर्छु
प्राय हिँडेर जाने २० मिनेटसम्म समय लाग्ने ठाउँमा हिँड्न रहर मान्छु । कोठादेखि प्रदेशसभा बैठकमा पनि सधैं हिँडेर जाने आउने गर्छु ।

दैनिक ३ सयभन्दा बढि फोन आउँछ
म एकदिनमा सामान्य अवस्थामा करिब ३ सयदेखि ५ सय जना सम्मको फोन रेस्पोन्स गर्छु । यो भन्दैगर्दा मसंग अहिले ९ हजार ८ सय १७ वटा फोन नम्बर अहिलेसम्म सेभ छन् । म निर्वाचित हुनुभन्दा पहिले करिब २ हजार नम्बर थिए । बैठकमा भएको समयमा फोन आएको जरूरी फोनहरू कलब्याक पनि गर्छु ।

सामाजिक संजालमा व्यंग्य लेख्छु
सामाजिक संजाल ट्विटर र फेसबुक चलाउँछु । फेसबुकमा २÷३ वटा आइडिमध्ये एउटा म आफै चलाउछु । त्यसमा आफ्नो निर्वाचन क्षेत्रका केही सुचना र जानकारी सेयर गर्ने, शुभकामना, समसामयिक राजनीतिक विषयहरूमा टिप्पणी गर्ने तथा ससाना ब्यंग्यात्मक स्टाटसहरू लेख्छु । ट्विटरमा पनि अहिले मनमा लागेका कुराहरू लेख्छु, टिप्पणी गर्छु । सार्वजनिक कार्यक्रमको फोटो कम राख्छु ।

पुराना फिल्म हेर्ने र पुराना गित सुन्ने गर्छु
हिन्दी र अंग्रेजी सिनेमाहरू हेर्छु । नेपाली सिनेमा पत्रपत्रिकामा समीक्षा आइसकेका पनि हेर्छु । प्राय पुराना सिनेमा हेर्छु । पुराना गितहरू सुन्छु । जस्तैः जनवादी गायक जीवन शर्मा ।

मोबाइलमै पढ्छु

मसंग मोबाइलमा किताबको पिडिएफ फाइल हुन्छ । खालि भएको समयमा मोबाइलमै पनि पढ्ने गर्छु । म विशेषगरी अर्थ राजनीति र कानुनका किताबहरू पढ्छु । निर्वाचित भइसकेपछि संसदीय प्रणाली सम्बन्धि किताबहरू पनि पढेँ । पत्रपत्रिकामा आएका लेखहरू पढ्छु ।
पायक परेसम्म यहाँका स्थानीय पत्रपत्रिका पढ्छु । प्राय अनलाइनमा समाचार पढ्छु । महत्त्वपूर्ण सामाग्री भेटिएका खण्डमा गुगल ड्राइभमा सेभ गरेर राख्छु र खालि समयमा पढ्छु । रेडियो कम सुन्छु, टेलिभिजन पनि हेर्छु ।

भेटघाट सजिलोसँग गर्छु
भेटघाट म सजिलोसँग गर्छु । खालि भएको समयमा चिया पसल, बाटो वा प्रदेशसभा जहाँ पनि कसैले भेट्ने इच्छा देखाउनुभयो भने उहाँसंग सहजै भेटेर कुरा गर्छु ।
प्रदेशसभा बैठकमा बोल्नुपर्ने कुराहरूमा पहिल्यै स्पष्ट धारणा बनाएर जान्छु । तर त्यति लामो लेखेरै तयारी चाहिँ गर्दिन । विषयवस्तुको गम्भीरता बुझेर बोल्ने गर्छु ।
अहिले प्रदेशसभामा बजेट अधिवेशन चलिरहेकोले म अलि व्यस्त जस्तो देखिएको हुँ । तर हामिजस्तो केही गरौं भन्नेहरूलाइ यहाँ सुर्खेतमा बिजनेस छैन म खालि नै हुन्छु प्राय फुर्सदिलो हुन्छ । कहिलेकाही मलाई सुर्खेतमा दिन बिताउनै गाह्रो पर्छ । सरकारले सांसदलाइ भुमिका दिन सकेको छैन ।

देशभित्रका नयाँ ठाउँ घुम्छु । मनोरञ्जन भन्दा पनि कसरी विकास जोड्ने सम्भावना खोज्न घुम्छु । बाहिर देशमा जाँदा पनि त्यहाँको विकासको अवधारणा बुझ्ने लक्ष्य राखेको हुन्छु ।
मैले व्यक्तिगत र पारिवारिक विषयमा समय दिन सकेको छैन । त्यसलाई सुधार गर्न आवश्यक ठानेको छु । अब मैले अध्ययन बढाउने र योगलाइ पनि ध्यान दिने गर्नु छ ।

 

हामीले आजदेखि नयाँ स्तम्भ सुरु गरेका छौं । यो स्तम्भमा हामीले विभिन्न क्षेत्रमा चर्चित व्यक्तिको एक दिनमा हुने कामहरु, बिहानदेखि साँझसम्म गर्ने गतिविधिका बारेमा कुराकानी गरी प्रकाशित गर्ने गर्छौं।