हप्ता दिनमा पनि आएन पिसिआर रिर्पोट, अब आरडिटी जाँच्ने घर पठाउनुको विकल्प नभएको डुंगेश्वर गाउँपालिका अध्यक्षको भनाई
सुर्खेत, २४ जेठ ।
दैलेखको डुंगेश्वर पालिकाले भारतबाट आएका ४८५ जनाको स्वाव संकलन गरेर जेठ १९ गते प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा पिसिआर जाँचका लागि ल्याएको थियो । पालिका आफैले भिटिएम किट खरिद गरेर आफ्नै दक्ष स्वास्थ्यकर्मीको सहयोगमा भारतबाट आइ क्वारेन्टाईनमा बसेको १४ औं दिन पुगेकाहरुको स्वाव संकलन गरि सुर्खेत पठाएको थियो । सात दिन पुग्नै लाग्दा पनि उनीहरुको स्वाव जाँच नभएका कारण आफूमाथि नागरिकले दबाब दिन थालेको बताउँदै अध्यक्ष नगेन्द्र मल्लले आरडिटी परिक्षण गर्दै घर पठाउनुको विकल्प नभएको नयाँ नेपाललाई बताए ।
‘स्वाव संकलन गरेको साता दिन वित्न लाग्दा पनि उनीहरुको पिसिआर जाँच हुन सकेको छैन । पिसिआर जाँचको रिर्पोट समयमै नआएका कारण दैनिक रुपमा पालिकाले दुइ लाख रुपैंया क्वारेन्टाईनमा बसेकाहरुलाई खाना खुवाउनमै खर्च भइरहेको छ । यसले एकातिर अनाहकमा पालिकाको श्रोत खर्च भइरहेको छ भने अर्कोतिर पछिल्लो समयमा आएका कसैमा कोरोना संक्रमण देखिएको खण्डमा त्यहाँ फैलिन सक्ने डर बढेर गएको छ ।’ उनले पिसिआर नतिजा समयमै आइदिएको खण्डमा पुरानालाई विदाइ गर्न र नयाँलाई त्यहि क्वारेन्टाईनमा राख्न सहज हुने बताए ।
‘हामीले विकासे आयोजनाबाट पैसा काटेनौं । सहकारलिाई दिने, खेलकुद प्रतियोगिता गर्ने जस्ता खर्च कटौति गरि पचास लाखको विपद व्यवस्थापन कोष बनाएका थियौं ।’ उनले भने, ‘त्यसैमा प्रदेश सरकारले पन्ध्र लाख रुपैंया दिएको थियो । क्वारेन्टाईन व्यवस्थापन र खाना खुवाउनै त्यो पैसा सकिइसकेको छ । अब थप हामीलाई एक करोड रुपैंया आवश्यक देखिएको छ । त्यत्रो पैसा कहाँबाट ल्याउने समस्या भइरहेको छ ।’
अध्यक्ष मल्लले सामाजिक सञ्जालमा पिसिआर जाँच मेसिन ल्याउने भन्ने हल्ला मात्रै आइरहेको बताउँदै मेसिन ल्याएर मात्र समस्याको समाधान नहुने बताए । ‘सामाजिक सञ्जालमा दैलेख वा दुल्लु अस्पतालमा पिसिआर जाँच गर्ने भनेर ध्यान मोडने प्रयास भइरहेको छ । बरु अहिले भएका मेसिनको क्षमता बढाएरै भएपनि पिसिआर जाँचको दायरा बढाउन आवश्यक छ ।’ उनले भने, ‘नयाँ मेसिन खरिद गर्न सकिएला तर जनशक्ति कहाँबाट ल्याउने भन्नेमा राजनीतिक नेतृत्व सजग रहनुपर्ने मैले देखेको छु ।’
उनले पालिकास्तरमा खटने प्रहरीलाई पर्याप्त सेवा सुविधा दिन कञ्जुस्याई गर्न नहुने धारणा राखे । ‘पालिकामा रहेका प्रहरी चौकीमा पाँच सात जना प्रहरी रात दिन खटिरहृेका छन् । सयौं नागरिक राती एक दुइ बजे आउँछन्, तिनै प्रहरीले व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।’ उनले भने, ‘हामीसँग भएको थोरै श्रोत र साधनले केहि सहयोग गर्न मात्रै सकेका छौं । प्रहरीलाई प्रदेश सरकारले दिने भनेको भत्ता तत्काल उनीहरुकै खातामा हाल्नु पर्छ ।’ अध्यक्ष मल्लले आफ्नो पालिकामा अब बढिमा पाँच सय नागरिक आउन सक्ने बताए ।