कर्णालीका ७ जना कोरोना जितेर घर फर्किए, मन्त्री रावलले दिए बधाई
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ७ जना निको भएर घर गएका छन् । कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरूलाई डिस्चार्ज गरिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।
प्रदेश अस्पतालका कोरोना रोग फोकल पर्सन डा. केएन पौडेलका अनुसार आज डिस्चार्ज हुनेहरूमा १ जना दैलेखका, ५ जना सुर्खेतका र एक जना ठेगाना नखुलेका बोल्न नसक्ने रहेको बताए ।
कोरोनालाई जित्नेहरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नम्बर ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षे लक्ष्मण राना, वडा नं.४ का ३७ वर्षे धनबहादुर बस्याल, वडा नं. ९ लाटीकोइलीका ११ वर्षे रमेश सुनार र महाबु गाउँपालिका १ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन्। भने एकजना महिलाकाे नाम र ठेगाना अस्पतालले खुलाएको छैन ।
कर्णालीमा शुक्रबारसम्म ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । भने २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
यसैबिच कोरोना जितेर घर फर्किनेरूलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बधाई दिएका छन् । उनलेे सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “कर्णालीमा पहिलोपटक आज ७ जनाले कोरोना भाइरसलाई जितेर प्रदेश अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँहरु सबैलाई बधाई छ । डिस्चार्ज भएका युवाले दिनु भएको अभिव्यक्ती हामी सबैका लागि प्रेरणादायी छ ।”